एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरी नगद चोरेको आरोपमा पक्राउ

everest kitchen

काठमाडौं । पोखराबाट एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरेर नगद लिइ फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । नवलपरासी(पूर्व) देवचुली नगरपालिका-५ घर भई पोखरा महानगरपालिका-३० बस्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

तामाङले पोखरा महानगरपालिका-२७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेर फरार भएका थिए ।

फरार अभियुक्त लाई प्रहरीले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो । नेपाल भारत सिमा नजिकबाटै पक्राउ परेका तामाङ लुक्नकोलागि भारत तर्फ जाने तयारीमा थिए । उनको साथबाट उनले प्रयोग गरेको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

तामाङले एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा सिसिटिभीमा कैद भएको दृश्य । उनले नगदसँगै एनएमबी बैंकको एटिएम २ वटा क्यासकेट लिएर फरार भएका थिए । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।

पक्राउ परेका तामाङमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।