मलाई उकुसमुकुस हुन्छ – कल्पना बस्याल

everest kitchen
कल्पना बस्याल

कल्पना  बस्याल

मलाई उकुसमुकुस हुन्छ
समाचार पत्रको पहिलो पेजको पहिलो समाचारले
बलात्कारको मुद्दामा धाईरहेको व्यक्तिलाई
राष्ट्रको सर्वमान्य व्यक्तित्वले अङ्कमाल गरेको देख्दा!

मलाई उकुसमुकुस हुन्छ
देश बनाउने सपना बाेक्नु पर्ने युवा शक्तिहरु
देशबाट कसरी भाग्ने सपना बोक्नुपर्ने बाध्यता देख्दा!!

मलाई उकुसमुकुस हुन्छ
शून्य लागतको भिसामा मागेको वैदेशिक श्रमिकलाई खुलेआम दलालहरूले
घर खेत बेचेर शुन्य बनाएर लैजादा पनि
राज्य मौन बसेको देख्दा!!!

मलाई उकुसमुकुस हुन्छ
दिवसै दिवसले भरिएको क्यालेन्डर अनि
हात, खुट्टा र आफ्ना प्रियजनहरुलाई
गुमाएर बाँचिरहेको विवश परिवारहरूलाई देख्दा!!!!

मलाई उकुसमुकुस हुन्छ
राष्ट्र कसरी बनाउने भनेर जुट्नुपर्ने टाउकेहरू
राष्ट्रपति कसलाई बनाउने भनेर दिनरातको दौडधुप देख्दा
मलाई उकुसमुकुस हुन्छ!!!!!