कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

everest kitchen

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् ।

गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक सङ्ख्या हो । यद्यपि गठबन्धन दलले सभामुखसहित ४७ पुर्याए पनि विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन् ।