पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको मलेसिया भ्रमण व्यक्तिगत हो – नेपाली राजदुतावास मलेसिया

everest kitchen

मलेसिया । नेपालका पूर्व प्रधानमन्त्रीमाधव कुमार नेपाल ईण्डोनेसिया जाने सिलसिलामा मलेसियामा ट्रान्जिटको रुपमा एक दिने भ्रमण गरेको नितान्त व्यक्तिगत भएको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।

पूर्व प्रधानमन्त्री नेपालले मलेसियाका गृह मन्त्रीसंग शिष्टाचार भेटघाट गरेको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचार जस्तै कुनै नयाँ व्यवस्थाको मलेसियन सरकासंग प्रस्ताव पेश नगरिएको दुतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

विज्ञप्ति
नेपालका पूर्व प्रधानमन्त्री माननीय श्री माधव कुमार नेपाल ईण्डोनेसिया जाने सिलसिलामा मलेसियामा ट्रान्जिटको रुपमा एक दिने भ्रमणमा रहनु भएको थियो । पूर्व प्रधानमन्त्री लगायतका उच्च व्यक्तित्वहरूको भ्रमणलाई राजदूतावासबाट सहजीकरण हुने र सम्भव भएसम्म उच्चस्तरीय भेटघाटको व्यवस्था मिलाई द्वीपक्षीय हितका विषयहरूमा छलफल गराउने प्रचलन रहे अनुसार पूर्व प्रधानमन्त्रीज्यूको मलेसियाका गृह मन्त्रीज्यूसँग शिष्टाचार भेटघाट भएको थियो ।

मलेसियाको गृह मन्त्रालय मलेसियामा आउने तथा मलेसियामा रहेका विदेशीहरूको भिसाको प्रबन्ध गर्ने, निजी सुरक्षा क्षेत्रका कामदारहरूको नियमन गर्ने, अध्यागमन व्यवस्थापन लगायतका विषयहरूमा मुख्य जिम्मेवार निकाय भएकोले उक्त शिष्टाचार भेटघाटको क्रममा नेपाल र मलेसिया बीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयका अतिरिक्त मलेसियामा रहेका नेपाली श्रमिकहरूको रोजगारी तथा घर फिर्ती सम्बन्धी विषयहरूमा समेत छलफल भएको थियो ।

मलेसियामा रोजगारी गरिरहेका नेपालीहरू आकस्मिक रुपमा नेपाल जान परेको अवस्थामा समेत मलेसिया सरकारको अध्यागमन विभागबाट लिनुपर्ने वहिर्गमन अनुमति लिन समय लाग्ने भई तत्काल नेपाल जान कठिनाई हुने अवस्थालाई सहज बनाउने, मलेसियामा विभिन्न कारणले अवैधानिक रुपमा बसिरहेका विदेशीहरू आफ्नो मुलुक फर्कनुपर्दा मलेसियन रिंगिट ३१०० सम्म जरिवाना र ६ महिना सम्म जेल बस्नु पर्ने विद्यमान कानून रहेको सन्दर्भमा घर फर्कन चाहने नेपालीहरूलाई सो रकम मिनाहा गरी आम माफी दिई नेपाल फर्कन सहज बनाउने, जेल जीवन विताई डिटेन्सन केन्द्रहरूमा रहेका नेपालीहरूलाई नियमित रुपमा नेपाल फर्कने व्यवस्था गर्ने, हाल कार्यरत श्रमिकहरूले मलेसियाको कानूनले तोकेको तलब तथा अन्य सेवा सुविधाहरू सहजरुपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने लगायतका विषयहरूमा दुवै मुलुकका सरकारले आवश्यक पहल गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

माननीय माधव कुमार नेपालको मलेसियाका गृह मन्त्रीज्युसँगको भेटघाट नितान्त निजी र शिष्टाचारपूर्ण मात्र रहेकोले समाचारमा उल्लेख भए अनुसार नेपाली श्रमिकहरूको नियुक्ति सम्बन्धि विषयमा नेपाली राजदूतावासको तर्फबाट कुनै नयाँ व्यवस्थाको लागि प्रस्तावहरु पेश नगरिएको व्यहोरा समेत अनुरोध गरिन्छ ।

उपरोक्त विषयलाई लिएर केही सञ्चार माध्यम एवं जनमानसमा पर्न गएको अस्पष्टतालाई यसै अनुसार स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ ।

बलिराम प्रसाद धामी
प्रथम सचिव