स्तरोन्नतिको पर्खाइमा सहिदमार्ग

everest kitchen

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।

सङ्घीय सरकारले समयमै बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो ।

ताराखोला गाउँपालिकाको शाखा सडकका रूपमा रहेको त्रिशूलचोक हुँदै माझखर्क सडक कालोपत्र भइसक्दा पनि गाउँपालिकाको मुख्य सडक भने स्तरोन्नतिसमेत हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

गाउँपालिका स्थापनासँगै गाउँपालिकाको मध्यभागलाई समेटिएको सहिदमार्गलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइए पनि शाखा त्रिशूलचोकबाट माझखर्क र हटिया हुँदै गाईघाट झरनातर्फ सडक कालोपत्र हुन लाग्दा समेत मुख्य सडक कालोपत्रका लागि ठेक्कासमेत खुल्न सकेको छैन ।

सडक कालोपत्र गर्ने गरी सङ्घीय सरकार तथा एसियाली विकास बैंकले पटक–पटक सडकको सर्भे गरे पनि सडक कालोपत्रका लागि हालसम्म ठेक्का प्रक्रियामै जान नसकेको हो । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोलामा यसै वर्ष पहिलोपटक कालोपत्र सडक पुगे पनि उक्त सडकले ताराखोला गाउँपालिकाको एउटा गाउँलाई मात्रै लाभ पुग्ने छ ।

ताराखोला गाउँपालिकाको त्रिशूलचोकबाट माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलोपटक सडक कालोपत्र भएको छ । तर गाउँपालिकाले मुख्य सडकको रूपमा परिकल्पना गरेको रिजालचोकबाट ताराखोला गाउँसम्मको झन्डै ३० किलोमिटर सडक निर्माण नहुँदा यात्रुलाई समस्या भइरहेको छ । गाउँपालिकाले मुख्य सडकका रूपमा परिकल्पना गरेको सडक ओझेलमा पर्दा सिङ्गो ताराखोला गाउँपालिकावासीलाई मर्का परेको बताएको छ।rss