८० विपन्न परिवारलाई आवासीय घर हस्तान्तरण

everest kitchen

इनरुवा । सुनसरी दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अतिविपन्न समुदायका लागि आवासीय घर तयार गरेर हस्तान्तरण समेत गरेको छ ।

रु सात करोडको लगानीमा दुई बिघा दुई कट्ठा क्षेत्रफलमा नगरपालिकाले निर्माण गरेको आवासीय बस्तीमा ती समुदायका ८० परिवार बस्नेछन् ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमबार हस्तान्तरण गरिएको बताए ।

उनका अनुसार साढे चार धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएका छन् । आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ ।

घर हस्तान्तरणका लागि नगरपालिकामा परेको दुई सय बढी आवेदनबाट छनोट भएका ८० घरपरिवारलाई मात्र घर हस्तान्तरण गर्न सकिएको र बाँकी परिवारलाई पनि चाँडै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको नगरप्रमुख गच्छदारले जानकारी दिए ।

नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ । आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ ।