असोजसम्म मुस्ताङमा स्याउ टिन्न प्रतिबन्ध

everest kitchen

गलेश्वर (म्याग्दी) । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारीको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ ।

चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।

सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँचवटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका उनले बताए ।

मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिए । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रंगका हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।