चार्टर्ड एकाउन्टेन्ट्स संघद्धारा रुकुम त्रिवेणी-७ का ६७५ विद्यार्थीलाई न्यानो कपडा वितरण

everest kitchen

रुकुम । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको सहयोगमा भुकम्प प्रभावित रुकुम पश्चिमको त्रिबेणी गाउँपालि -७ का ६७५ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर प्रदान गरिएको छ । साधारण माविमा मुरुडाँडा स्थित आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष सी.ए. दिपक पाण्डे र केन्द्रीय सदस्य सी.ए. पृथ्वी पुन मगर स्वयं आफै उपस्थिति भएर गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको रोहबरमा सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको अवसरमा संघका अध्यक्ष पाण्डेले भुकम्प पीडितको पीडामा थोरै भएपनि सहयोग गर्ने हेतुले संघ आइपुगेको र भविष्यमा पनि कुनै खाले सहयोग आवश्यक भए संघलाई आग्रह गरेमा थप सहयोग गर्ने बताए ।

संघका केन्द्रीय सदस्य पृथ्वी पुन मगरले आफ्नो जन्म थलो दुखमा रहदा आफू बेचैन भएकोले सहयोग लिएर आएको बताए । उनका अनुसार संघका उपत्यका प्रदेश कमिटी प्रमुख सी.ए. टिका कार्की र उनी सम्मिलित समितीले अहोरात्र खटेर संघका सदस्यहरुबाट उक्त सहयोग संकलन गरिएको थियो ।

त्यस्तै, गाउँपालिका अध्यक्ष केसीले रुकुमको दु:खमा साथ दिन आएकोमा संघलाई धन्यवादज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन शिक्षक धनबहादुर खड्काले गर्नुभएको थियो । स्वागत मन्तव्य वरिष्ठ शिक्षक पूर्णवहादुर खड्काले दिनुभएको थियो । धन्यवाद मन्तव्य सोही विद्यालयका प्रधानाध्यापक भिमबहादुर बुढाथोकिले दिनुभएको थियो । सो कार्यक्रमको

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश वुढा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउपालिकाका अध्यक्ष गणेश के. सी. वडा नम्बर सातका वडाअध्यक्ष धनबहादुर खड्का, वडा सदस्यहरु, प्रधानाध्यापक भिम बुढाथोकी, वडाका ६ वटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु तथा शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

त्रिवेणीमा मानवीय क्षति नभएपनि भौतिक क्षति भने धेरै भएको छ । करिब पाँच हजार घरहरुमा भुकम्पले प्रभावित पारेको छ । गाउँपालिकाले हालै ६४ घर परिवारलाई अस्थायी टहरा निर्माणको लागि पहिलो किस्ताको रकमसमेत उपलब्ध गराएको छ ।