मृत अवस्थामा कल्भर्टमा भेटिएको एक पुरुष र महिला को हुन सक्छन् ?

everest kitchen

चितवन । ६ मंसिरमा चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिकै केरुंगा खोलाको कल्भर्टमा भेटिएको शवको पहिचान नभएपछि प्रहरीले मृतकको अनुहारको स्केच सार्वजनिक गरेको छ ।

बोराभित्र भेटिएको एक महिला र पुरुषको शव ११ दिनसम्म पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय चितवनले मृतकहरुको स्केच सार्वजनिक गरेको हो ।

प्रहरीको विशेष टोलीले शव भेटिएलगत्तै अनुसन्धान सुरु गरे पनि अहिलेसम्म शव कसको हो, कसले हत्या गरेर फाल्यो भन्ने थाहा नपाएपछि स्केच बनाएर सार्वजनिक गरिएको हो ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो। कोही पनि व्यक्ति आफन्त हराएको सूचना दिन नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको विशेषज्ञद्वारा तयार पारिएको स्केच मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजवस्तु, चिह्न तथा कपडाहरुको विवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकाले सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

स्केच हेरेपछि कोही सम्पर्कमा आउँछ कि भनेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले लामो समयसम्म सम्पर्क हुन नसकेका आफन्तहरुलाई एकपटक फोन गरेर अवस्था बुझ्न अनुरोध गर्दै आएको छ ।

नारायणगढ गोन्द्राङ सडकखण्ड ६ लेनमा विस्तार भइरहेको ठाउँमा नै यो घटना भएकोले कल्भर्ट र त्यस वरपरका बारेमा बुझेका व्यक्ति नै हत्या गरेर शव फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

पुरुष अन्दाजी २५ बर्षको ५ फिट ७ इन्चको उचाइका छन् भने महिला ३०/३१ वर्षको ५ फिट ३ इन्चकी उचाइ भएकी छन् ।