मुग्लिन पोखरा सडक : नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

everest kitchen

दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र गरिएको हो ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, “दुई ठाउँमा एकातर्फी रुपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।”

सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्र गरेकामा नाहाला खण्डमा तिहारका बेला कालोपत्र गरेको थियोे । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१दशमलव४५ किमी रहेको छ । आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ । इन्जिनियर पाण्डेका अनुसार पहिला कालोपत्र भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्र थप्ने काम थालिएको छ । उनले भने, “यस अगाडि बरादीमा कालोपत्र भएको ठाउँमा जोड्ने गरी मार्कीचोकदेखि काम सुरु भएको छ । सवारी साधनको आगमनलाई ध्यानमा राखेर अहिले एकतर्फी मात्रै कामहरु भइरहेको छ ।”

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको इन्जिनियर पाण्डेको भनाइ थियो । पूर्वी खण्डमा सडक फराकिलो बनाउने र पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ ।