पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

everest kitchen

काठमाडौँ । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् ।

फिल्मको प्रचार प्रसारमा पल शाह नदेखिएपछि फ्यानहरुले उनको भूमिकाको विषयमा प्रश्न उठाएका छन् । फ्यानको प्रश्नको जवाफ दिदै पलले सामाजिक संजाल मार्फत फिल्ममा आफ्नो भूमिका छोटो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन् ।
साथै उनले आफु अर्को फिल्मको छायांकनमा व्यस्त रहेकोले प्रचार प्रसारमा सहभागी हुन नपाएको बताएका छन् ।

उनले भनेका छन्-

मैले अभिनय गरेको पछिल्लो र मेरो लागि निकै महत्त्वपूर्ण रहेको चलचित्र ‘पुजार सार्की’ को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेर यहाँहरूले दिनुभएको मायाबाट म नतमस्तक छु। ट्रेलर सार्वजनिक कार्यक्रम भव्य भएको थियो । म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनमा जनकपुर र सरलाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु । मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।

मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’ मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ । निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है ।