मकवानपुर, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो।
गाउँपालिकाको मंगलबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष बनस्तम थिङले बजेट प्रस्तुत गरेका हुन्। बजेटमा चालु र पूँजीगत खर्च, सङ्घीय तथा प्रदेश सरकारको अनुदान र आन्तरिक स्रोतबाट जुटाइने आम्दानी समावेश गरिएको छ।
चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट स्रोत व्यवस्थापनका लागि:
-
सङ्घीय सरकारबाट प्राप्त अनुदान: ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ
-
प्रदेश सरकारबाट प्राप्त अनुदान: १० करोड ५८ लाख २२ हजार रुपैयाँ
-
आन्तरिक स्रोत: ९ करोड ४ लाख ३० हजार रुपैयाँ
यो वर्षको बजेटमा चालु खर्चमा उल्लेख्य वृद्धि गरिएको छ भने पूँजीगत खर्च केही घटाइएको देखिन्छ। त्यस्तै सङ्घीय र प्रदेश सरकारको अनुदान पनि अघिल्ला वर्षको तुलनामा बढेको छ।
गाउँपालिकाले बजेट कार्यान्वयनमार्फत स्थानीय विकास, पूर्वाधार विस्तार, स्वास्थ्य, शिक्षा, कृषि, रोजगारीलगायतका क्षेत्रमा ठोस पहल गर्ने विश्वास व्यक्त गरेको छ।