पर्थ, पश्चिम अष्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि राज्य संयोजक (State Coordinator) पदमा हरिबंश संजेल (सुमन) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
२०२१–२३ मा युवा सदस्य र २०२३–२५ मा राज्य कोषाध्यक्षको रूपमा कार्य गर्दै आएकाले उनी समुदायभित्र राम्रोसँग परिचित अनुहार हुन्। संजेलले आफ्नो उम्मेदवारी घोषणा गर्दै विगतमा प्राप्त अनुभव, समुदायको विश्वास, माया र सशक्त सहभागितालाई अगाडि बढाउँदै अझ व्यापक रूपमा सेवा गर्ने अठोट व्यक्त गरेका छन्।
उनको मुख्य प्रतिबद्धताहरू यसप्रकार छन्:
-
खेलकुदमार्फत समुदायलाई जोड्ने: सबै उमेर समूहका लागि समावेशी खेलकुद कार्यक्रम
-
नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धन: सांस्कृतिक कार्यक्रम, भाषिक कक्षा
-
सामाजिक सहयोग र आपतकालीन सहायता: सुदृढ राहत संयन्त्र
-
पर्थ मन्दिर तथा सामुदायिक केन्द्रलाई सहयोग
-
नेपाली स्टार्टअप र व्यवसाय प्रवर्द्धन
-
महिला तथा युवा सशक्तीकरण
-
संस्थागत पारदर्शिता र जवाफदेही नेतृत्व
-
दीर्घकालीन योजना निर्माण र कार्यान्वयन
उनले भनेका छन्, “NRNA पश्चिम अष्ट्रेलियाले यो पटक २४०० भन्दा बढी सदस्यको उत्साहजनक सहभागिता पाएको छ, जुन हाम्रो एकता र सक्रियताको प्रमाण हो। म यसै एकताको आधारमा संस्था र समुदायलाई नयाँ उचाइमा पुर्याउने संकल्पका साथ अघि बढेको छु।”
संजेलले सम्पूर्ण पश्चिम अष्ट्रेलियावासी नेपालीहरूलाई सुझाव, प्रतिक्रिया र मतको साथ दिन आग्रह गर्दै, आफूलाई मतदान गरेर समुदायको सेवा गर्ने थप अवसर दिनुहुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्।