लन्डन, जुलाई ३ — गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकाल (२०२५–२०२७)का लागि सदस्यता विस्तार अभियान औपचारिक रूपमा सम्पन्न भएको छ। संघका अनुसार यसपटक करिब ४,२०० सदस्यता आवेदन (ड्राफ्टसहित) प्राप्त भएका छन्।
संघले अल्पसमयमै बेलायतभर खटिएका सम्पूर्ण अभियन्ता, स्वयंसेवक र समुदायका सहयोगी हातहरूप्रति हार्दिक नमन व्यक्त गरेको छ।
यसै सन्दर्भमा, सामाजिक अभियन्ता एवं वर्तमान कार्यसम्पर्कमा सक्रिय भूमिका निर्वाह गरिरहेकी डा. रक्षा थापाले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
“अब यो यात्रालाई नेतृत्वमा रूपान्तरण गर्ने समय आएको छ” — डा. थापा
उनी भन्छिन्, “सदस्यता विस्तारको कार्य सजिलो थिएन, तर तपाईंहरूको सहयोग, विश्वास र सक्रियताले यसलाई सम्भव बनायो।”
साथै उनले आफ्नो उम्मेदवारी घोषणासँगै वर्तमान कार्यसमितिको सक्रियता, समर्पण र सकारात्मक भूमिकाप्रति विशेष धन्यवाद पनि व्यक्त गरेकी छिन्।
भविष्यतर्फको अपिल
अब आउँदो २६ जुलाई २०२५ मा हुन लागेको एनआरएनए युकेको निर्वाचनमा सहभागी हुन उनले सबै नेपाली समुदायलाई आग्रह गरेकी छिन्।
“अनलाइन मतदानमार्फत आफ्नो अमूल्य मत दिई आगामी कार्यकालमा सक्षम नेतृत्व चयन गर्नुहोला,” उनले अपिल गर्दै भनिन्।
डा. थापा बेलायतस्थित नेपाली समुदायमा परिचित नाम हुन् — सामाजिक सेवामा उनको निरन्तर सक्रियता, महिलाको सशक्तिकरण र समुदायमा सकारात्मक परिवर्तन ल्याउने दृढ इच्छाशक्तिका लागि उनी चिनिन्छिन्।