पश्चिम सिड्नीमा बसोबास गर्ने नेपाली महिला पूर्णिमा गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद (SCC) सदस्य पदका लागि उम्मेदवार बन्नु भएको छ।
सिड्नी, अष्ट्रेलिया
२०१९ मा एक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेकी पूर्णिमा गुरुङले अहिलेको नेतृत्व यात्रासम्म आइपुग्दा आफैंभित्रको संघर्ष, सशक्तिकरण र सामुदायिक सेवाको गहिरो कथा बोकेको बताएकी छन्।
“जब म अष्ट्रेलिया आएँ, म चिनिन सकिन, तर डराउन पनि सकिन। वेट्रेस, रुम अटेन्डेन्ट र एच केयरमा काम गर्दै अघि बढें,” उनले भनिन्, “तर त्यो संघर्षले मलाई आजको म बनाउन सहयोग गर्यो।”
हाल व्यावसायिक लेखापाल (Accountant) बन्ने अध्ययनमा रहेकी गुरुङ वित्तीय साक्षरता, महिला सशक्तिकरण र समावेशी नेतृत्वको पक्षमा सक्रिय छिन्। उनी भन्छिन्, “सुनिन नपाउनेहरूको आवाज बन्ने मेरो अभियान हो।“
एससीसी सदस्य बन्ने उम्मेदवारीको कारण
पूर्णिमा गुरुङको उम्मेदवारी व्यक्तिगत उपलब्धिभन्दा फरक उद्देश्यसहित रहेको छ। उनले भनिन्: “म आफू मात्रका लागि हैन, ती सबै चेलीका लागि उम्मेदवार बनेकी हुँ, जो अझै पनि चुप छन्। ती युवाहरूका लागि जो अझै असुनिएका छन्।“
उनले एनआरएनए भित्र युवा, महिला र नयाँ आप्रवासीहरूका लागि सुरक्षित, खुला र सहयोगी वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएकी छन्।
‘टिम एकता’ रोज्नुको कारण
पूर्णिमा गुरुङ ‘Team Ekata’ की सक्रिय सदस्य हुन्। उनी भन्छिन्: “टिम एकता काम गर्नेहरूको टोली हो। हाइरार्कीभन्दा सहकार्यमा विश्वास राख्नेहरू हुन्। म त्यहाँ प्रतिनिधित्व, इमानदारी र एकताको मूल्य पाउँछु।“
समुदायप्रति उनको सन्देश
“Empowered women empower communities. म आफैंका लागि हैन, हर एक सपना देख्ने नेपालीका लागि उम्मेदवार बनेकी हुँ। आउनुहोस्, एक यस्तो एनआरएनए NSW बनाऔं, जहाँ सबैको स्थान होस् – चाहे उनीहरूको स्थिति, लिङ्ग वा संघर्ष जे भए पनि।”
नेपाली डायस्पोरामा प्रेरणादायी प्रतिनिधित्व
पूर्णिमा गुरुङको अभियान केवल उम्मेदवारी मात्र हैन, यो नेपाली महिलाहरूको सम्भावना, नेतृत्व र दृढताका लागि प्रेरणा पनि हो। उनी जस्तै हजारौं नेपाली महिलाहरू आफ्नो भविष्य निर्माण गर्दैछन् – र पूर्णिमाको कथा उनीहरूको आवाज बन्न थालेको छ।