होबार्ट, तास्मानिया – आगामी २६ जुलाई २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनलाई लक्षित गर्दै डिला भण्डारीले NRNA तास्मानिया (NRNA-TAS) अन्तर्गत डिपुटी कोअर्डिनेटर (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
तास्मानियामा बसेर लामो समयदेखि समुदायप्रति सक्रिय भूमिका निर्वाह गर्दै आएका भण्डारीले, आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा नभई समाज, समावेशिता र साझा समृद्धिका लागि आवश्यक जिम्मेवारीका रूपमा लिएको बताए।
उनले NRNA तास्मानियाले हालसम्म सञ्चालन गर्दै आएका कार्यक्रमहरूको निरन्तरतासँगै, राज्यभरका नेपाली संघ–संस्थासँग सहकार्य गरी समुदायको साझा हितमा प्रभावकारी रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय तहका प्रमुख प्रतिबद्धता:
१. प्रवासी लगानी र आर्थिक सहभागिता प्रवर्द्धन
२. राज्य तथा संघीय सरकारबाट अनुदान सुनिश्चित
३. एनआरएनए साझेदारी कार्यदल गठन
४. बहुसांस्कृतिक कार्यक्रम र पहलकदमीमा सहकार्य
५. परोपकारी परियोजनाहरू NRNA Foundation मार्फत सञ्चालन
६. दोस्रो पुस्ता नेपालीहरूलाई संस्थागत रूपले जोड्ने
७. व्यापार सञ्जाल तथा उद्यमशीलता प्रवर्द्धन
८. स्टार्टअप र इन्क्युबेटर कार्यक्रम सञ्चालन
९. नीतिगत संवाद र वकालतमा सक्रिय भूमिका
तास्मानिया राज्यस्तरका मुख्य प्रतिबद्धता:
१. नेपाली समुदायमा एकता, सहकार्य र समावेशिता प्रवर्द्धन
२. नयाँ आप्रवासीहरूलाई जानकारी, आवास, शिक्षा, रोजगारी र कानुनी सहायता
३. युवा तथा महिलाको सशक्तिकरण, नेतृत्व विकास र सीप अभिवृद्धि
४. विद्यार्थी तथा पेशागत वर्गका लागि तालिम र करियर मार्गदर्शन
५. नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा विस्तार
६. संस्थागत पारदर्शिता र उत्तरदायित्व
७. स्थानीय निकाय तथा एनआरएनए सञ्जालसँग समन्वयमा सामूहिक पहल
डिला भण्डारीले भने: “एनआरएनए केवल एक संस्था होइन, यो प्रवासी नेपालीको पहिचान, अधिकार र साझा भविष्य निर्माणको माध्यम हो। यसलाई निष्ठा र पारदर्शिताका साथ अघि बढाउनु मेरो धर्म हो।”
भण्डारीले सम्पूर्ण तास्मानिया निवासी नेपाली समुदायलाई आफ्नो अभियानमा सुझाव, समर्थन र मतद्वारा सशक्त बनाइदिन हार्दिक अनुरोध गरेका छन्।