नारी निकुञ्ज भिक्टोरिया सदस्य पदका लागि ऋजुप्रिया पौडेलको उम्मेदवारी घोषणा

everest kitchen

मेलबर्न, अस्ट्रेलिया — १२ जुलाई २०२५

अस्ट्रेलियामा रहेका नेपाली समुदायका पहिलो पुस्ताका युवाहरूको आवाज प्रतिनिधित्व गर्दै ऋजुप्रिया पौडेलले नारी निकुञ्ज भिक्टोरिया सदस्य पद (NRNA Australia 2025–2027 कार्यकाल) का लागि उम्मेदवारी घोषणा गरेकी छिन्।

मेलबर्नमा आयोजित एक अनलाइन सन्देशमार्फत उम्मेदवारी घोषणा गर्दै पौडेलले आफ्नो अभियान नारी सशक्तिकरण, मानसिक स्वास्थ्य, लैंगिक समानता र नयाँ पुस्ताको पहिचानलाई समेट्ने बताइन्।

“मैले तीन वर्षको उमेरदेखि अस्ट्रेलियामा बसीरहेकी छु। मेरा जरा नेपालमा छन्, तर मेरो बास अस्ट्रेलियामा। म यी दुई संसारको बीचको सेतु हुँ,” पौडेलले भनिन्।

उनले थपिन्, “हाम्रो पुस्ताले भोगेको सांस्कृतिक द्वन्द्व, पहिचानको खोजी, र मौनतामा लुकेका महिला सम्बन्धी मुद्दाहरू उठाउने समय अब आएको छ। म त्यो आवाज बन्न चाहन्छु जसले मौनता तोड्छ, परिवर्तन ल्याउँछ।”

पौडेलले आफ्नो उम्मेदवारीमार्फत विभिन्न कार्ययोजनाहरू प्रस्तुत गरेकी छिन्, जसमा:

  • पहिलो पुस्ता तथा नयाँ पुस्ताका नेपाली अस्ट्रेलियालीहरूलाई नेतृत्वमा उभ्याउने,

  • सांस्कृतिक पहिचान र समकालीन चुनौतीलाई समेट्ने समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने,

  • महिलाको मानसिक, शारीरिक तथा भावनात्मक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने,

  • पारदर्शी र लक्षित अभियानहरू सञ्चालन गर्ने,

  • नारी प्रतिनिधित्वलाई मर्यादा, ईमानदारी र गर्वका साथ अगाडि बढाउने।

उनी नारीका सवालहरूलाई प्राथमिकतामा राख्दै सम्पूर्ण नेपाली समुदायलाई समेट्ने दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्छिन्।

“समय आएको छ– परिवर्तनको। एक यस्तो समुदाय निर्माण गर्ने जसले परस्पर सम्मान, सहकार्य र पुस्तागत विकासलाई महत्व दिन्छ। म त्यस यात्रामा तपाईँको साथ खोज्दैछु,” पौडेलको अपिल रहेको छ।

ऋजुप्रिया पौडेलको उम्मेदवारीले विशेषगरी युवा पुस्ता र महिलाहरूबीच सकारात्मक ऊर्जा र परिवर्तनको आशा फैलाएको छ। आगामी निर्वाचनमा उनी कत्तिको सफल हुनेछन् भन्ने कुरा समयले देखाउनेछ, तर उनको दृष्टिकोण र समर्पणले पहिल्यै चर्चा बटुल्न थालेको छ।