एनआरएनए आयरल्याण्ड सचिव पदमा विकास पण्डितको उम्मेदवारी घोषणा, समर्पण र समावेशीताको प्रतिबद्धता

everest kitchen

डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि विकास पण्डितले सचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

सामुदायिक सेवा र समावेशी नेतृत्वमा लामो समयदेखि सक्रिय रहँदै आएका पण्डितले भने, “म अत्यन्तै हर्षित छु कि म सचिव पदको लागि उम्मेदवारी दिन पाएको छु। समुदायप्रतिको मेरो समर्पण सधैं एकता र समन्वयमा केन्द्रित रहँदै आएको छ, र म फेरि पनि तपाईंहरू सबैसँग सहकार्य गर्न इच्छुक छु।”

विकास पण्डितका प्रमुख निर्वाचन एजेन्डा:

१. हेल्प डेस्कको निरन्तरता र स्तरोन्नति (२०२३ देखि सुरु)

सन् २०२३ मा सुरु गरिएको हेल्प डेस्क सेवालाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने उनको प्राथमिकता हो।
“यो सेवा मार्गदर्शन र सहयोगको केन्द्र बनेको छ,” पण्डित भन्छन्, “अब म यसलाई अझ प्रवाहमूलक, पहुँचयोग्य, र विभिन्न भाषा बोल्ने समुदायका लागि उपयोगी बनाउन बहुभाषिक सहायता प्रणाली पनि सुरु गर्नेछु।”

२. सदस्यता पूर्ण रूपमा निःशुल्क बनाउने प्रस्ताव

विकास पण्डितले एनआरएनए आयरल्याण्डको सदस्यता सबैका लागि पूर्ण रूपमा निःशुल्क बनाउने एजेन्डा अघि सारेका छन्।
“आर्थिक अवरोध हटाएर, हामीले अझ समावेशी र सहभागी समुदाय निर्माण गर्न सक्छौं,” उनी भन्छन्। यो पहलले आयरल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरूलाई एनआरएनएको मूलधारमा ल्याउने र संस्थाको आवाजलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

“हामी सबैको सहभागिता, पारदर्शिता र एकताको भावना नै सशक्त एनआरएनएको आधार हो,” भन्ने विश्वास व्यक्त गर्दै विकास पण्डितले आगामी निर्वाचनमा समर्थन र विश्वासको अपील गरेका छन्।