एडमन्टन, क्यानडा — गैर आवासीय नेपाली संघ (NRNA) क्यानडा २०२५–२७ कार्यकालका लागि महिला उपाध्यक्ष (Women VP) पदमा एडमन्टन निवासी समिक्षा कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
समिक्षा कार्की हाल एडमन्टनस्थित एक प्रतिष्ठित इमिग्रेशन ल फर्ममा मानव संसाधन व्यवस्थापक (HR Manager)को रूपमा कार्यरत छिन्। क्यानडाका विभिन्न प्रान्तहरूमा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै उनले आपतकालीन सहयोग, महिला सशक्तिकरण तथा सामाजिक सेवा अभियानहरूमा सक्रिय भूमिका खेल्दै आएकी छन्।
उनी भन्छिन्, “म क्यानडावासी सम्पूर्ण दाजु-भाइ तथा दिदी-बहिनीहरूबाट प्राप्त साथ, विश्वास र सहयोगको आधारमा नेपाली समुदायका साझा सवालहरूलाई क्यानडाली संघीय, प्रान्तीय तथा स्थानीय सरकारहरूसँग समन्वय गरी समाधान खोज्ने नेतृत्वदायी भूमिका निर्वाह गर्ने अठोटका साथ अघि बढेकी छु।”
आसन्न जुलाई २०, २०२५ मा हुने निर्वाचनमा महिला उपाध्यक्ष पदका लागि आफूलाई अत्यधिक मतले विजयी गराइदिन उनले सम्पूर्ण क्यानडावासी नेपाली समुदायमा हार्दिक अनुरोध गरेकी छन्।
समिक्षा कार्कीको उम्मेदवारीले एनआरएनए क्यानडाको नेतृत्वमा नयाँ ऊर्जा र समावेशी दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।