पर्थ –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको पश्चिमी अष्ट्रेलिया (WA) राज्यअन्तर्गत महिला फोरम “नारी निकुञ्ज” सदस्य पदमा सोनी गिरी विजयी भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले उल्लेखनीय समर्थन प्राप्त गर्दै सो पदमा निर्वाचित भएकी हुन्।
नेपाली महिला समुदायबीच सशक्त आवाजका रूपमा चिनिएकी सोनी गिरी सामाजिक सेवा, महिला सशक्तिकरण, तथा आप्रवासी जीवनसँग जोडिएका विभिन्न विषयमा सक्रिय रूपमा क्रियाशील रहिआएकी छन्।
महिला आवाज र सहभागितालाई बलियो बनाउने अठोट
निर्वाचनपश्चात प्रतिक्रिया दिँदै गिरीले भनिन्, “प्रवासी जीवनमा नेपाली महिलाहरूले भोग्ने समस्या, अवसर र सम्भावनालाई संस्थागत रूपमा अगाडि ल्याउने मेरो प्रयास हुनेछ। म नारी निकुञ्जमार्फत सशक्त, समावेशी र सक्षम नेतृत्वको अभ्यास गर्नेछु।”
उनले महिला शिक्षा, नेतृत्व विकास, स्वास्थ्य सचेतना, तथा परिवार सशक्तिकरणका क्षेत्रमा प्रभावकारी पहल गर्ने प्रतिवद्धता जनाएकी छन्।
समुदायबाट बधाई र आशा
सोनी गिरीको यो जितलाई नेपाली महिलाको सशक्त सहभागिता र अग्रसरताको संकेतका रूपमा लिइएको छ। पश्चिम अष्ट्रेलियामा महिला नेतृत्वको उपस्थिति थप बलियो बनाउने अपेक्षा समुदायले राखेको छ।