नयाँ पुस्ताको जोश, प्रवासी युवाका लागि आशाको आवाज
डार्विन, अष्ट्रेलिया –
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नर्दन टेरिटोरी अन्तर्गत आयोजित निर्वाचनमा युवा सदस्य पदमा सुमित अधिकारी विजयी भएका छन्।
एनआरएनए २०२५–२०२७ कार्यकालका लागि आयोजित निर्वाचनमा उनले उल्लेखनीय समर्थनसहित आफ्नो जित सुनिश्चित गरेका हुन्।
सुमित अधिकारी प्रवासी नेपाली युवाको प्रतिनिधित्व गर्दै सामाजिक नेतृत्व, नेटवर्क निर्माण, र अवसर सृजनामा अग्रसर रहँदै आएका एक आशावादी युवा हुन्। उनको विजयीलाई युवापुस्ताको आवाज संस्थागत तहमा पुग्न थालेको संकेतका रूपमा हेरिएको छ।
विजयपश्चात संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले भने:“यो पद मेरो लागि अवसर मात्र होइन, जिम्मेवारी पनि हो। म नर्दन टेरिटोरीमा रहेका नेपाली युवाहरूको क्षमता विकास, मनोपरामर्श, नेतृत्व र रोजगारीका सवालमा काम गर्न चाहन्छु।”
उनले आगामी कार्यकालमा नेपाली संस्कृति, खेलकुद, पेशागत सीप विकास र प्रवासी युवाबीच एकताको प्रवर्द्धनमा केन्द्रित कार्यक्रमहरू संचालन गर्ने अठोट व्यक्त गरेका छन्।