२७ जुलाई २०२५, मेलबर्न ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत युथ फोरमको संयोजक पदमा गौरव सुनार विजयी भएका छन्। हालै सम्पन्न एनआरएनए निर्वाचन २०२५–२०२७ अन्तर्गत उनले आफ्नो टोलीसहित विजयी भई युवा नेतृत्वमा नयाँ ऊर्जा थपेका छन्।
गौरव सुनारको नेतृत्वमा रहेको टोलीले युवामाझ सक्रिय अभियान, समुदायप्रतिको जिम्मेवारी र समावेशी दृष्टिकोणका साथ चुनावी प्रतिस्पर्धा गरेको थियो। परिणामस्वरूप, उनले उल्लेखनीय समर्थन पाउँदै युथ फोरमको संयोजक पदमा निर्वाचित हुन सफल भए।
विजयपछि प्रतिक्रिया दिँदै संयोजक गौरव सुनारले भने, “एनआरएनए युवा फोरमलाई सबै नेपाली युवाहरूको आवाज बनाउनेछौं। विद्यार्थी सहायता, रोजगारी सञ्जाल, सीप विकास, र नेपाली कला-संस्कृतिको संरक्षण हाम्रो प्राथमिकता हुनेछ।”
उनको टोलीले पनि सामाजिक अभियान, मानसिक स्वास्थ्य सचेतना, र नेपाल–अष्ट्रेलियाबीचको युवा सम्बन्ध सुदृढ गर्न विभिन्न कार्यक्रम अगाडि ल्याउने प्रतिबद्धता जनाएको छ।
समुदायका अग्रज तथा युवाहरूले नव–निर्वाचित टोलीलाई बधाई दिंदै निष्पक्ष, समर्पित र दूरदर्शी नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।