मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन

everest kitchen

काठमाडौं, १५ साउन।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज तारकेश्वर नगरपालिका–४ स्थित इप्सा नेपाल को स्थलगत अवलोकन गरेका छन् ।

फरक क्षमता (अपाङ्गता) भएका युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको यो कम्पनी ४५ जिल्लाका ६० जनाभन्दा बढी युवाहरूको आशाको केन्द्र बनेको छ ।

इप्सा नेपालमा कार्यरत युवाहरू हाते होजीयारी, गलैचा उत्पादन, साना हस्तकलाका सामग्री निर्माणजस्ता काममा संलग्न छन् ।

संस्थाकी सञ्चालक संगीता पन्तका अनुसार, “यहाँ अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल प्राविधिक कामहरू विकास गरिएको छ जसले उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाएको छ ।”

मन्त्री भण्डारीले इप्साको कार्यप्रणालीबाट प्रभावित हुँदै यस्ता समावेशी र सृजनशील उद्यमलाई सरकारबाट आवश्यक सहुलियत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले भने, “अपाङ्गता भएका उद्यमीहरू हाम्रो समाजको गौरव हुन् । यिनीहरूलाई आत्मनिर्भर बनाउन सकियो भने, समावेशी समृद्धिको सपना साकार हुन्छ ।”

अपाङ्गता भएका उद्यमीहरुले उदाहरणीय काम गरेर अरु युवालाई समेत प्रेरणा प्रदान गरेको उनको भनाई छ ।

इप्सा नेपालले देखाएको मार्गदर्शन अरू सामाजिक उद्यमहरूका लागि पनि उदाहरणीय बन्ने विश्वास गरिएको छ ।