दूतवास द्वारा प्यारालाईस र मानसिक असन्तुलन भएका पिडीतको उद्वार।

everest kitchen

 

नेपाली राजदूतवास द्वारा प्यारालाईस पिडीत सुजन सार्की र मानसिक असन्तुलन पिडीत आनन्द पाण्डेलाई उद्धार गरि स्वदेश फर्काईएको छ ।अबैधानिक बसोबास गरि गरिरहेका उनीहरुलाई मलेसिया सरकारको घरफिर्ती कार्यक्रम अन्तरगत फर्काईएको हो ।
रुपाकोट ११, खोटाङ निवासी सुजन सार्की सन् २०१७ मा मलेसिया आएका हुन । सन् २०२२ मा कम्पनीबाट भागेर अबैधानिक बसोबास गरिरहेका उनी तीन महिना देखि प्यारालाईसले थलिएका थिए । दुईटै खुट्टा नचल्ने अवस्थामा भएका उनलाई साथीभाईले संरक्षण दिएका थिए । थप उपचार र नेपाल फर्किन समस्या भएपछि उनी पिएनसिसिको सम्पर्कमा आएका थिए ।
जनकपूर -२४, धनुषाका आनन्द पाण्डे २ बर्ष अघि मलेसिया आएका थिए । कम्पनीमै रहेर काम गरिरहेको अवस्थामा उनको मानसिक सन्तुलन बिग्रिएको थियो । मानसिक सन्तुलन बिग्रिएकै कारण उनले २ पटक सम्म आत्माहत्या गर्न खोजेका थिए । पहिलो पटकको आत्माहत्या प्रयासबाट बचाएर कम्पनीले नेपाल फर्काउने निर्णय गरेपछि उनी कम्पनी छाडेर भाग्ने प्रयत्न समेत गरेका थिए । कम्पनीकै संरक्षणमा राखेर नेपाल फर्काउने प्रकृया चलिरहेको अवस्थामा दोश्रो पटक आत्माहत्या प्रयास गरेपछि भने कम्पनीले दूतवासलाई जानकारी गराएर दूतवासको रोहवरमा उनलाई २ हप्ता क्रिस्टिना केयर सेन्टरमा राखेको थियो । दूतवासका अधिकारीले फिङ्गर गराउन अध्यागमन लग्दा भागेका उनलाई समात्न करिव २ घण्टा लागेको थियो । छिनछिनमा उत्तेजित हुने र अनियन्त्रित हुने विरामीका कारण हवाईयात्रा भरिका लागि उनलाई संयमित बनाउने औषधी समेत चलाउनु परेको थियो ।
सुजन सार्की र आनन्द पाण्डेको उद्धारमा समन्वय गरेको पिएनसिसि संयोजक पूर्ण सूब्बाका अनुसार सुजनका लागि एम्बुलिफ्ट बापतको लाग्ने शूल्क आरएम ५९० प्रवासी नेपाली समन्वय परिषद (RSP)ले ब्यहोरेको हो भने आनन्दका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली राजदूतवासको पहलमा कम्पनीले ब्यहोरेको हो । दूवैजनाको ट्राभल्स डकुमेन्ट दूतवासले निशूल्क जारी गरि अध्यागमनमा गर्नु पर्ने सम्पूर्ण कागजी प्रकृयामा दूतवासले सहयोग गरेको हो ।
त्यसैगरि दूतवासले निशूल्क उपलब्ध गराएको ट्राभल्स डकुमेन्ट र हवाई टिकटमा सूर्योदय नगर पालिका ४, ईलामका वीर बहादुर गुरुङ पनि स्वदेश फर्किएका छन । संयोजक पूर्ण सूब्बाका अनुसार बुवाको मृत्यूको खवर पाएपछि सहयोगका लागि गुरुङ पिएनसिसिको सम्पर्कमा आएका थिए । पिएनसिसिको पहलमा दूतवासले गुरुङलाई ट्राभल डुकुमेन्ट र हवाई टिकट उपलब्ध गराउनुका साथै अध्यगमन पुगेर गर्नु पर्ने सबै प्रकृयामा दूतवासका अधिकारीले सहयोग गरेको हो ।
सुुजन ३० जुलाईका दिन फर्किएका हुन भने आनन्द र वीर बहादुर ३१ जुलाईका दिन फर्किएका हुन । नेपाल पुगेका उनीहरुलाई पिएनसिसि काठमान्डौले परिवारको जिम्मा लगाएको हो ।