ओमानमा नेपाली महिला समूहद्वारा भव्य तीज कार्यक्रम सम्पन्न, राजदूतावासबाट शुभकामना

everest kitchen

मस्कट, ओमान – हरितालिका तीज २०८२ को अवसरमा ओमानस्थित नेपाली महिलासमूहले एक भव्य तथा सुव्यवस्थित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमले ओमानवासी नेपाली समुदायबीच मौलिक संस्कृति, परम्परा र आपसी एकता प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ।

गत शुक्रबार आयोजित कार्यक्रममा ओमानमा कार्यरत नेपाली दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रह्यो। विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, तीजका पारम्परिक गीत तथा नृत्यमार्फत कार्यक्रम अत्यन्तै जीवन्त र उत्साहजनक बनाइएको थियो।

कार्यक्रमको सफलता र समुदायबीचको सहकार्यप्रति नेपाली राजदूतावास, ओमानले खुसी व्यक्त गर्दै सम्पूर्ण आयोजकहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, तीज पर्वको अवसरमा राजदूत डोरनाथ अर्याल तथा राजदूतावास परिवारले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र एकताको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

राजदूतावासले यस्ता कार्यक्रमहरू नेपाली संस्कृति जगेर्ना गर्ने माध्यम भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता गतिविधिहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेको छ।