दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

everest kitchen

काठमाडौं । दशैंको चापलाई लक्षित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ ।

चाडपर्वको बेला वायु सेवा कम्पनीहरूले मनपरी भाडा उठाउनेक्रम रोक्न प्राधिकरणले अधिकतम भाडा सीमा निर्धारण गर्दै, त्यसभन्दा बढी शुल्क लिने कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

सरकारबाट स्वीकृत भाडादरभन्दा बढी रकम लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीहरूमाथि कडा कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं–धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ ।

चाडबाडको अवसर पारेर विगतमा हवाई कम्पनीहरूले सामान्यभन्दा दोब्बरसम्म भाडा असुलेको गुनासो आउँदा, यसपटक प्राधिकरणले अग्रिम रूपमा उच्चतम सीमा तोकेको हो ।

तोकिएको अधिकतम हवाई भाडादर यस्तो छ :

काठमाडौं–सिमरा : ३,९७८ रुपैयाँ

काठमाडौं–भरतपुर : ४,६४३ रुपैयाँ

काठमाडौं–जनकपुर : ५,४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६,६३५ रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७,६३० रुपैयाँ

काठमाडौं–राजविराज : ८,२१० रुपैयाँ

काठमाडौं–भैरहवा : ८,४६१ रुपैयाँ

काठमाडौं–सुर्खेत : ९,०३० रुपैयाँ

काठमाडौं–विराटनगर : ९,७८५ रुपैयाँ

काठमाडौं–भद्रपुर : १२,११२ रुपैयाँ

काठमाडौं–नेपालगञ्ज : १३,१०३ रुपैयाँ

काठमाडौं–धनगढी : १७,५७९ रुपैयाँ

प्राधिकरणले यात्रुहरूलाई पनि सचेत रहन आग्रह गर्दै स्वीकृत भाडादरबारे जानकारी लिएर मात्र टिकट काट्न अनुरोध गरेको छ ।