पाँच वर्षदेखि बेपत्ता रहेका सप्तरीका दिपेन्द्र शर्मा मलेशियाबाट स्वदेश फर्किए

everest kitchen

काठमाडौं। मलेशियामा पाँच वर्षदेखि हराइरहेका सप्तरीका दिपेन्द्र कुमार शर्मा अन्ततः स्वदेश फर्किएका छन्। नेपाल दूतावास, मलेशिया र प्रबासी नेपाली समन्वय समिति (PNCC) ले संयुक्त रूपमा थालेको पहलपछि उनी सुरक्षित रूपमा उद्धार भई नेपाल फर्किएका हुन्।

राजगढ–५ मलेकपुरका ३४ वर्षीय शर्मा करिब नौ वर्षअघि रोजगारीका लागि मलेशिया पुगेका थिए। रोजगारी दिने कम्पनीले आश्वासनअनुसार सेवा–सुविधा नदिएपछि उनले कम्पनी छोडेका थिए र त्यसपछि उनी कागजविहीन अवस्थामै विभिन्न काम गर्दै आएका थिए। यतिबेला उनी पाँच वर्षदेखि परिवारसँग कुनैसमेत सम्पर्कमा थिएनन्।

मलेशियामै कार्यरत उनका छिमेकी शोवित दासले शर्मा हराएको थाहा पाएपछि दूतावास र PNCC समक्ष औपचारिक रूपमा सहयोगको अनुरोध गरेका थिए। सोही आधारमा सुरु गरिएको खोजी अभियानका क्रममा उनी पेनाङस्थित एक चाइनिज मन्दिरमा वेवारिसे अवस्थामा बसोबास गरिरहेको अवस्थामा भेटिएका थिए।

PNCC का outreach officer सुरेशदेव देबकोटाले नोभेम्बर १७, २०२५ मा उनलाई मन्दिरबाट उद्धार गरी दूतावासमा पु¥याएका थिए। दूतावासले तत्काल मूल्य नलाग्ने एकतर्फी यात्रा कागज (Travel Document) उपलब्ध गराएको थियो। मानसिक तथा शारीरिक अवस्था कमजोर रहेकाले केही दिन दूतावास र PNCC को निगरानीमा सुरक्षित स्थानमा राखी आवश्यक उपचार तथा व्यवस्थापछि स्वदेश फर्काउने प्रक्रिया पूरा गरिएको दूतावासले जनाएको छ।

शर्मालाई घर ल्याउने सम्पूर्ण प्रक्रिया नेपाल दूतावास, PNCC र बाग्लुङ सेवा समाज मलेशियाको सहकार्यमा सम्पन्न भएको हो। आवश्यक कागजी प्रक्रिया दूतावासले पूरा गरे पनि टिकट तथा अन्य खर्च उनका परिवारले व्यहोरेका थिए।

उनीलाई KLIA विमानस्थलसम्म पुर्‍याएर बिदाइ गर्नेहरूमा PNCC मलेशियाका संयोजक पूर्ण लिम्बु, बाग्लुङ सेवा समाज मलेशियाका अध्यक्ष कृष्ण खड्का र NRNA मलेशियाकी महिला संयोजक इन्दु बस्नेत रहेका थिए। स्वदेश फर्कंदै गर्दा शर्माले सबै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै भने, “अब नेपालमै बसेर फर्निचरसम्बन्धी काम गर्न चाहन्छु। फेरि विदेश जाने सोच बनाएको छैन।”