काठमाडौं । सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ ।
बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन(जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेन(जीहरुमाथिको धरपकड तथा दमनले आफूहरुलाई आक्रोशित तुल्याएको बताएका छन् । श्रेष्ठले जनताको शासकहरुप्रतिको चरम असन्तुष्टि र जेन(जीको बिद्रोहमार्फत सुशासन र भ्रष्टाचार मुक्त देशको सपनालाई वर्तमान सरकारले हत्या गरेको आरोप लगाए । ‘जेन(जीको आन्दोलनमा उपस्थित भएर हप्ता दिनमै भ्रष्टाचार मुक्त गर्छु भन्ने सुशीला त बारबारा फाउण्डेसनको प्रतिनिधिकारुपमा पो काम गर्न थाल्नु भयो, अब उहाँलाई विस्थापन गर्नुको विकल्प छैन’ श्रेष्ठले भने ।
श्रेष्ठले वर्तमान सरकारले गर्ने भनेको चुनावको औचित्य समाप्त भएको बताउँदै भने,‘जेन(जी विद्रोह मुलतः सुशासन र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको माग भएको तर यो सरकार पुरानै बाटोमा गएकोले देशले यसबाट निकास पाउने देखिन्न ।’
पार्टी उपाध्यक्ष मेनुका श्रेष्ठले विद्रोहमा कलिला होनाहार युवायुवतिको साहदत भएको र उनिहरुले देखेको सुशासनसहितको भ्रष्टाचार मुक्त देशको सपनालाई मर्न नदिने बताईन् ।
महासाचिव राजेन्द्र नेगीले सरकार समक्ष आफूहरुले राखेका मागहरु प्रस्तुत गर्दै सो मागहरु संबोधन नभए जेन(जीलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए । उनले अन्तरिम संविधान निर्माण गरी सर्वपक्षीय नागरिक सरकार निमार्ण गर्ने, सोही नागरिक सरकारले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए ।
पार्टीका सचिव रमेश महतेले देश परिवर्तनको उच्चतम हुटहुटी भएका नव युवाहरुलाई भोटिङ अधिकारबाट विमुख गर्ने व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘नागरिकता १६ वर्षमा दिने तर भोट गर्ने तथा उम्मेदवार बन्न नपाउने व्यवस्था संशोधन नगरी चुनावको औचित्य छैन’ महतेले भने ।
पार्टीका उपाध्यक्ष साङ्गे शेर्पाले विदेशी संस्थाहरुले सहयोगको बहानामा देशलाई अस्थिर बनाउने षड्यन्त्र गर्ने गरेको आरोप लगाउँदै भने,‘एनजीयो तथा आइएन्जीयोहरुले देशलाई कसरी अस्थिरता र घातक हुने कार्य गर्दा रहेछन् भन्ने कुरा पछिल्लो विद्रोहमा टिओबी घुसपैठ र बारबार फाउण्डेसन नेतृत्व वर्तमान सरकार काफि छ ।’
आफ्ना मागहरु संबोधन गराउन सरकार तथा सरोकारवाला पक्षहरुसँग वार्ता गर्न पार्टीले पार्टी अध्यक्ष निरबहादर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिएको छ । सो वार्ता टोलीमा साङ्गे शेर्पा, मेनुका श्रेष्ठ, राजेन्द्र नेगी रमेश महते सदस्यहरु रहेको जनाएको छ ।











