मन्थली नगरपालिकाको एक पन्थ–दुई काम, सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर

everest kitchen

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति तथा आगामी योजना र प्राथमिकताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । नगरपालिकाले सार्वजनिक सुनुवाइसँग घुम्ती शिविर पनि आयोजना गरेको छ ।

मन्थली नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले चालु आर्थिक वर्षमा सञ्चालित योजना, बजेट खर्चको अवस्था तथा सेवा प्रवाहसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले हालसम्म गरेको प्रगति र सञ्चालित कार्यक्रम बारे जानकारी दिएका थिए ।

प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि मन्थली नगरपालिकामा चालु खर्चतर्फ ७२ करोड १० लाख ७७ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ३२ करोड ५४ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । पाँच महिनाको अवधिमा कुल विनियोजित बजेटको १८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।

राजस्व सङ्कलनको अवस्थाबारे जानकारी दिँदै उनले चालु आर्थिक वर्षको पाँच महिनामा १ करोड ५६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा कुल ४ करोड २३ लाख ५५ हजार रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्षहरू, कर्मचारी, उपभोक्ता समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र योजनासँग सम्बन्धित विभिन्न जिज्ञासा तथा प्रश्न उठाएका थिए।

उठाइएका प्रश्नहरूको जवाफ नगर प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा तथा सम्बन्धित वडा अध्यक्षहरूले दिएका थिए ।

कार्यक्रममा सञ्चालन गरिएको शिविरबाट पशु सेवा अन्तर्गत १ सय ६५ घरधुरीका सेवाग्राहीले सेवा लिएका छन् भने कृषि क्षेत्रतर्फ २ सय २८ जनालाई बिउबिजन वितरण गरिएको छ। स्वास्थ्य सेवातर्फ १ सय ७० जनाले सेवा लिएका छन्, जसमा दाँतसम्बन्धी ३१ जना, आँखासम्बन्धी ८५ जना, स्त्रीरोगसम्बन्धी २३ जना तथा प्रयोगशाला परीक्षणसम्बन्धी ७८ जना सेवाग्राहीले सेवा लिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख लब श्रेष्ठले जनप्रतिनिधि नागरिक सेवामा निरन्तर लागिरहेको बताए । केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।