काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मालाई नेकपा (एमाले) को भ्रातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले झड्का दिएको छ।
शर्माले आफ्नो उम्मेदवारी घोषणा गर्ने समयमै मञ्चले अर्को वृहत् भेला राखेपछि यसलाई शर्माविरुद्धको ‘नियोजित असहयोग’ का रूपमा हेरिएको एनआरएनए अभियन्ताहरुको भनाइ छ ।
आगामी मार्च १४–१६ मा हुने निर्वाचनका लागि डा. शर्माले आइतबारअपरान्ह ४:०० बजे (नेपाली समय) जुममार्फत आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम तय गरेका थिए। तर, सोही दिन र झन्डै उस्तै समय (अपरान्ह ४:३० बजे) पारेर प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ‘बृहत भेला २०२६’ आयोजना गरेको हो।
एउटै समयमा पार्टीका प्रमुख अतिथिसहितको ठुलो कार्यक्रम तय हुनुले मञ्चका कार्यकर्ताहरूलाई शर्माको कार्यक्रममा सहभागी हुनबाट रोक्ने रणनीति लिएको बुझिएको छ। स्रोतका अनुसार, मञ्चभित्रका ठुलो पंक्ति शर्माको कार्यशैली र राजनीतिक चरित्रप्रति असन्तुष्ट रहेका कारण जानाजानी कार्यक्रम जुधाइएको हो।
लामो समयदेखि नेपाली कांग्रेस र केही खास शक्ति केन्द्रसँग निकट मानिने शर्माले यसपटक अध्यक्ष बन्नका लागि एमालेमा सहयोगको याचना गर्दै निवेदन हालेका थिए। आफूलाई ‘एमाले निकट’ देखाएर चुनावी समीकरण बदल्न खोजेका शर्माको यो कदमले ओएनएफ भित्र तीव्र आक्रोश पैदा गरेको छ। मञ्चका इमानदार कार्यकर्ताहरूले शर्मालाई ‘नक्कली एमाले’ को संज्ञा दिएका छन्। “उनी केवल पद र शक्तिका लागि अवसर अनुसार रङ फेर्ने पात्र हुन्,” ओएनएफ सम्बद्ध एक नेताले भने, “कांग्रेसको साख बोकेका व्यक्तिले एमालेको नाम भजाएर चुनाव जित्न खोज्नु संगठनको मर्यादा विपरीत छ।” एनआरएनएका वर्तमान अध्यक्ष बद्री केसीले हेमराज शर्मालाई एमालेको ‘साझा उम्मेदवार’ जस्तो बनाएर अगाडि सार्न खोजेको चर्चा छ। केसीले एमाले नेतृत्वलाई मनाउन खोजे पनि ओएनएफका अध्यक्ष सञ्जय थापा लगायतको नेतृत्वदायी पंक्ति यसमा सहमत देखिएको छैन। ओएनएफ विभाजित हुँदा त्यसको प्रत्यक्ष असर शर्माको चुनावी अभियानमा पर्ने देखिएको छ।
यसअघि बिहीबार परराष्ट्र मन्त्रालयमा भएको एक बैठकमा समेत शर्माको चर्को आलोचना भएको थियो। उनी संस्थाभित्र पछिल्लो समय अलोकप्रिय बन्दै गएको र पदका लागि सिद्धान्त त्यागेर विपक्षी दलको शरणमा पुगेको आरोप लाग्दै आएको छ।
हेमराज शर्माले ओएनएफको साथ पाउने आश गरिरहेका बेला एमाले अध्यक्ष ओली नै सहभागी हुने कार्यक्रम सोही समयमा राखिनुले शर्मालाई नेतृत्वले स्वीकार नगरेको सन्देश दिएको छ। यसले एनआरएनएको आसन्न निर्वाचनमा शर्माको दाबेदारीलाई कमजोर बनाएको छ भने संस्थाभित्रको शक्ति सङ्घर्षलाई थप रोचक मोडमा पुर्याएको छ। केही अघि एनआरएनएको अध्यक्षमा रोबिन शेरचनले पनि उम्मेदवारी घोषणा गरेका थिए ।











![संसद बैठकमा जे देखियो [तस्बिरहरू]](https://www.himaltimes.com/wp-content/uploads/2024/05/440841845_7643743395739116_1123013236296162433_n.jpg-80x60.jpg)
