जोहोरबारु, मलेसिया । प्रवासी नेपाली समन्वय समिति (PNCC) द्वारा जोहरबारु राज्यमा आयोजना गरिएको हेल्प डेस्क कार्यक्रम सम्पन्न भएको छ। १० मे २०२६ आइतबार जोहरबारुको जेबीस्थित Hotel JO मा आयोजित कार्यक्रममा नेपाली दूतावास मलेसियाको श्रम काउन्सुलर कृष्ण प्रसाद भुसाल को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा जोहोर आसपास क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले आफ्ना समस्या, गुनासा, जिज्ञासा तथा श्रमसम्बन्धी विभिन्न विषयहरू राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ नेपाली दूतावासका प्रतिनिधिद्वयसँगै प्रवासी नेपाली समन्वय समिति (PNCC) का मलेसिया कोर्डिनेटर पूर्ण बहादुर लिम्बु, जोहोर प्रतिनिधि सुरेन्द्र महतो लगायतले बुँदागत रूपमा दिएका थिए।
कार्यक्रममा NRNA क्षेत्रीय समिति जोहोर, Help Madhesi Malaysia, नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो।
यसैबीच कार्यक्रममा सहभागी भएका कोशी प्रदेश झापा जिल्ला पठामारी–१ निवासी जमाल उद्दिन मिया ले आफ्नो पीडादायी अवस्था सुनाएका थिए। सन् २०१४ मा वैदेशिक रोजगारीका लागि मलेसिया आएका उनी २०१८ मा नेपाल बिदा गएर पुनः मलेसिया फर्किएपछि निरन्तर काम गर्दै आएका थिए। तर कम्पनीले लामो समयसम्म नेपाल फर्किन नदिएको र विभिन्न बहाना बनाएर रोकिराखेको गुनासो उनले गरेका थिए।
कम्पनीबाट बाहिरिएपछि फेब्रुअरी २०२६ देखि सडकमा बस्न बाध्य भएका मियाको अवस्था सुनेपछि नेपाली दूतावासले आवश्यक प्रक्रिया पूरा गरी तत्काल नेपाल फर्काउने जिम्मेवारी लिएको जानकारी कार्यक्रममा दिइएको थियो।
कार्यक्रममा सहभागी नेपाली श्रमिकहरूले यस्ता सूचना तथा जनचेतनामूलक कार्यक्रम आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। साथै आफ्ना समस्या सम्बन्धित निकायसम्म पुर्याउने वातावरण सिर्जना गरिदिएको तथा आवश्यक परामर्श प्राप्त गर्ने अवसर उपलब्ध गराएको भन्दै प्रवासी नेपाली समन्वय समिति (PNCC) प्रति धन्यवाद व्यक्त गरेका थिए।











