३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवस : सियन पुनर्स्थापना केन्द्रमा सचेतना अभियान सुरु

everest kitchen

हेटौंडा । ३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा मकवानपुरस्थित सियन पुनर्स्थापना केन्द्रमा विविध सचेतनामूलक कार्यक्रमका साथ अभियान सुरु गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले लागूऔषध दुव्र्यसन मकवानपुर जिल्लाका लागि गम्भीर सामाजिक चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले पछिल्लो समय लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिहरू निरन्तर पक्राउ परिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने धारणा राख्नुभयो।

एसपी खत्रीले लागूऔषध दुव्र्यसन नियन्त्रण तथा न्यूनीकरणका लागि परिवार, छिमेकी, विद्यालय, युवाहरू, सामाजिक संघसंस्था तथा पुनर्स्थापना केन्द्रहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। “लागूऔषधको समस्यालाई नियन्त्रण गर्न सबै सरोकारवाला पक्षबीच सहकार्य र समन्वय अपरिहार्य छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले लागूऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै युवाहरूलाई सचेत रहन आग्रह गरेका थिए। साथै, लागूऔषध प्रयोगकर्ताहरूलाई दण्ड मात्र नभई पुनर्स्थापना र सामाजिक पुनःएकीकरणको अवसर दिनुपर्नेमा जोड दिइएको थियो।

दिवसको अवसरमा आयोजित कार्यक्रममा पुनर्स्थापना केन्द्रका प्रतिनिधि, प्रहरी कर्मचारी, युवाहरू तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत लागूऔषधमुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।