तिम्रो जात अनि धर्मसँग
मेरो कुनै सर्त छैन,
मलाई त केवल
मनको उज्यालो चाहिएको छ।
नामअघि जोडिएका परिचयभन्दा
आँखाभित्र बस्ने विश्वास चाहिएको छ,
जहाँ शब्दभन्दा भावना बोलून्
र मौनले पनि माया बुझोस्।
यो संसारले हजार प्रश्न उठाओस्,
हामीबीच दूरीका रेखा कोराओस्,
तर साँचो प्रेमले
कहिल्यै जात सोध्दैन,
र अपनत्वले
धर्मको हिसाब राख्दैन।
म त चोखो मनको साथ खोज्दै छु,
नाटकभन्दा परको आत्मीयता खोज्दै छु,
जहाँ साथ भन्नु
केवल उपस्थित हुनु होइन,
मनभित्र बसिरहनु हो।
तिमीलाई बदल्न खोजेको होइन,
तिमी जस्तो छौ
त्यसैमा मेरो सम्मान छ।
किनकि मनले एकपटक रोजेको मान्छे
फेरि अर्को भएर आउँदैन।
तिमी नै अर्को हुन सक्दैन,
किनकि जीवनमा
केही भेटहरू यस्ता हुन्छन्—
जो समयसँग टाढा भए पनि
मनबाट कहिल्यै हराउँदैनन्।
कवि दिक्षान्स खड्का











