निर्वासित तिब्बतीयन गुरू दलाई लामाको जीवनीको पुस्तक बजारमा आउँदै

everest kitchen

काठमाडौं, २१ असार । चौधौं दलाई लामाको ९१औं जन्मदिनको अवसरमा वेस्टल्यान्ड बुक्सले उनको नयाँ जीवनी  ‘इटरनल लाइट’ का लागि अग्रिम बुकिङ खुला गरेको छ।

वरिष्ठ पत्रकार तथा लेखक डा. अरविन्द यादवद्वारा लिखित यो पुस्तक सन् २०२६ को जुलाई ३० मा प्रकाशित हुने तय गरिएको छ।

 

यस पुस्तकले दलाई लामाको जीवनका मुख्य घटनाहरू, तिब्बतको आधुनिक इतिहास, निर्वासनमा रहेको तिब्बती समुदायको संघर्ष र उनीहरूको सांस्कृतिक पहिचान जोगाउने प्रयासहरूलाई सरल तथा तथ्यपरक ढंगले प्रस्तुत गरिएको छ । यसले उनको बाल्यकालदेखि विश्वका सर्वाधिक सम्मानित आध्यात्मिक नेताहरू मध्ये एक बन्ने यात्राको वृत्तान्त समेटेको छ।

 

यस पुस्तकका बारेमा बोल्दै दलाई लामाले यो जीवनी अंग्रेजी, हिन्दी र तेलुगु भाषामा उपलब्ध हुने कुरामा खुसी व्यक्त गरेका छन । यसले तिब्बतको इतिहास र त्यहाँका जनताले सामना गरेका चुनौतीहरू बारे अझ धेरै मानिसहरूलाई बुझ्न मद्दत पुर्‍याउने छ। उनले यो पुस्तकले प्रेम, करुणा, सहिष्णुता, क्षमाशीलता, दया र मानवताको एकताको सन्देश फैलाउनेछ भन्ने आशा व्यक्त गरे ।

लेखक डा. यादवले बताए अनुसार यस पुस्तकमा दलाई लामाको जीवनसँग सम्बन्धित त्यस्ता अनेकौं तथ्यहरू समावेश छन्, जुन यसअघि व्यापक रूपमा सार्वजनिक भएका थिएनन्। उनको विश्वास छ कि पाठकहरूले यसबाट जीवनबारे अझ राम्रो बुझाइ प्राप्त गर्ने र प्रेरणा लिने अवसर पाउने छन्।

 

वेस्टल्यान्ड बुक्सकी प्रकाशक तथा सम्पादक मीनाक्षी ठाकुरले दलाई लामाको आशीर्वादसहित यो जीवनी प्रकाशित गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएकी छन्। उनले यस पुस्तकमा दलाई लामाको बाल्यकाल र प्रारम्भिक जीवनसम्बन्धी महत्त्वपूर्ण विवरणहरू समेटिएको उल्लेख गरिन्। यस पुस्तकको अग्रिम बुकिङ सुरु भइसकेको छ र यो सबै प्रमुख अनलाइन तथा अफलाइन पुस्तक पसलहरूमा उपलब्ध हुनेछ।