काठमाडौं, २९ असार । सारा संसार अल्बर्ट आइन्स्टाइनलाई चिन्छन तर के तपाईंलाई थाहा छ, एकजना यस्ती महिला पनि छिन्, जसको तुलना आइन्सटाइनसँग गरिन्छ, उनको नाम सब्रिना गोन्जालेज पास्टर्सकी ।
किशोरावस्थामा उनी आफ्नो पढाइका साथसाथै हवाईजहाज बनाउने काममा पनि व्यस्त थिइन्, उनले जहाज आफैँ बनाइन् मात्र होइन, त्यसलाई उडाएर पनि देखाइन पनि। आज उनी एक सैद्धान्तिक भौतिकशास्त्री हुन् र विज्ञान उनको अभिरुचि हो।यही लगावका कारण सब्रिनाले धेरै ठूला प्रस्तावहरू अस्वीकार गरिन्।
साथीहरूसँग समय बिताउन रुचाउने उमेरमा सब्रिना भने विमान बनाउनमा व्यस्त थिइन्। उनले आफ्नो सम्पूर्ण बाल्यकाल विमान निर्माणमै बिताइन् र १४ वर्षको उमेरमा एक्लै विमान उडाइन्।
सब्रिनाका यिनै उपलब्धिहरू देखेर वैज्ञानिकहरू चकित परेका थिए। कलेज प्रवेश गरेसँगै उनले आफ्नो छुट्टै पहिचान बनाइन्। सब्रिनाले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा भौतिकशास्त्रको अध्ययन गरिन् । उनको प्रदर्शन यति उत्कृष्ट थियो कि उनले मात्र तीन वर्षमै स्नातक पूरा गरिन्। विज्ञान प्रतिको उनको लगाव त्यतिमै सीमित रहेन, स्नातकपछि उनी हार्वर्ड विश्वविद्यालयमा भर्ना भइन्, जहाँ उनी सैद्धान्तिक भौतिकशास्त्रमा विद्यावारिधि गर्दैछिन्।
सब्रिनाको काम यति उत्कृष्ट थियो कि प्रख्यात वैज्ञानिक स्टिफन हकिङले समेत उनको प्रशंसा नगरी रहन सकेनन्। उनले आफ्नै अनुसन्धान कार्यमा सब्रिनाको ‘स्पिन मेमोरी इफेक्ट’ सम्बन्धी अनुसन्धानलाई उल्लेख गरेका थिए। उनको अनुसन्धानले गुरुत्वाकर्षण, ब्ल्याक होल र स्पेस टाइमको प्रकृतिजस्ता अत्यन्त जटिल विषयहरूलाई समेट्छ।
सब्रिनाको कामले प्रतिष्ठित वैज्ञानिकहरूको समेत ध्यान आकर्षित गर्यो। प्राप्त जानकारी अनुसार नासाले उनको प्रतिभामा चासो देखाएको थियो भने जेफ बेजोसको अन्तरिक्ष कम्पनी ‘ब्लु ओरिजिन’ले उनलाई जागिरको प्रस्ताव राखेको थियो तर उनले ती प्रस्तावहरू अस्वीकार गरिन्। शैक्षिक पदका लागि गरिएको १.१ मिलियन अमेरिकन डलरको प्रस्ताव अस्वीकार गरेपछि उनी अझ बढी चर्चामा आइन्।
सब्रिना भन्छिन् कि उनले पैसाभन्दा आफ्नो अनुसन्धानबाट बढी खुसी पाउँछिन्, त्यसैले उनी अहिले त्यसमै ध्यान केन्द्रित गर्न चाहन्छिन्। उनी आज पनि ब्रह्माण्डलाई बुझ्ने प्रयासमा गुरुत्वाकर्षण र क्वान्टम मेकानिक्सजस्ता जटिल विषयहरूको अध्ययन गरिरहेकी छिन्। मानिसहरू प्रायः उनलाई ‘अर्की अल्बर्ट आइन्स्टाइन’ भन्ने गर्छन् तर सब्रिना भने आफूलाई केवल भौतिक विज्ञानकी एक विद्यार्थी मान्छिन् जसले जीवनमा अझ धेरै कुरा सिक्न बाँकी छ।











