दमास्कस, १० साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सिरिया पुगेका छन् ।
१७ वर्षयता बहालवाला राष्ट्रसंघीय प्रमुखको यो पहिलो औपचारिक भ्रमण हो।
सिरियाको सरकारी समाचार संस्थाका अनुसार गुटेरेस शनिबार दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्, जहाँ सिरियाका विदेशमन्त्री असद अल(शैबानीले उनलाई र उनको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए ।
यस भ्रमणका क्रममा गुटेरेसले राष्ट्रपति अहमद अल शारासँग भेट गर्नेछन् । उनी अल कायदाका पूर्व कमाण्डर हुन् र गत वर्षसम्म संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिबन्धको सूचीमा रहेका थिए। सन् २००९ यता अर्थात् देशमा १४ वर्षसम्म चलेको रक्तपातपूर्ण गृहयुद्ध सुरु हुनु अघि देखि यताराष्ट्रसंघ प्रमुखको यो पहिलो भ्रमण हो।
सन् २०२४ मा सिरियाका लामो समयदेखि सत्तामा रहेका नेता बसर अल असदलाई अपदस्थ गरिए पछि सत्ता सम्हालेका अल शाराका लागि यो अर्को एक कूटनीतिक कोसेढुङ्गा साबित भएको छ किनकि उनले अन्तर्राष्ट्रिय सम्बन्धहरू पुनः स्थापित गर्ने प्रयास गर्दै आएका छन्। सिरिया भ्रमणको क्रममा गुटेरेसले अल शैबानी, अन्य सरकारी अधिकारीहरू र सिरियाली नागरिक समाजका प्रतिनिधिहरूसँग पनि वार्ता गर्नेछन्।
यस भ्रमणको क्रममा इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गतका प्रतिबद्धताहरूको अनुगमन गर्ने प्रयास स्वरूप सिरियाको कब्जा गरिएको गोलान हाइट्समा तैनाथ ‘संयुक्त राष्ट्रसंघीय डिइन्गेजमेन्ट अब्जर्भर फोर्स’को निरीक्षण गर्न स्थलगत भ्रमण पनि गरिनेछ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले गुटेरेसले यो कुरामा जोड दिने योजना बनाएको बताएका छन् कि सिरियासँग द्वन्द्वबाट माथि उठ्ने मात्र नभई सबै सिरियालीहरूका लागि अझ स्थिर, समावेशी र समृद्ध भविष्यको जग बसाल्ने अवसर पनि रहेको छ।
गुटेरेस केही दिन दमास्कसमा रहने अपेक्षा गरिएको छ तर उनको भ्रमणको पूर्ण तालिका भने कार्यालयले सार्वजनिक गरेको छैन। उनले सोमबार सिरियाको नयाँ संसदलाई सम्बोधन गर्ने अपेक्षा गरिएको अलजजिराले जनाएकाे छ।











