हेपाटाइटिस ‘बी’ र ‘सी’ ‘साइलेन्ट’ रोग हो, तत्काल परीक्षण गर्नुपर्छ : डा.सागर पौडेल

everest kitchen

काठमाडौं । कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्ने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामीमा रोग गम्भीर बनेपछि मात्रै पत्ता लाग्ने गरेको छ ।

समयमै परीक्षण, उपचार र हेपाटाइटिस ‘बी’ विरुद्धको खोपले भने यस्तो जटिल अवस्थाबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्।

केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा.सागर पौडेलले हेपाटाइटिस ‘बी’ र ‘सी’लाई ‘साइलेन्ट’ रोगको संज्ञा दिँदै धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै रोग पत्ता लाग्ने गरेको बताए ।

विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले सुरुमा कुनै लक्षण नदेखिने हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण समयमै पहिचान हुन नसके कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने बताए ।

उनले भने, ‘हेपाटाइटिस बी र सीको संक्रमण धेरैजसोमा सुरुमा कुनै लक्षण देखिँदैन । लक्षण देखिँदासम्म कलेजोमा धेरै क्षति पुगिसकेको हुनसक्छ । त्यसैले समयमै परीक्षण गरेर संक्रमण पहिचान गर्नु नै सबैभन्दा महत्वपूर्ण हुन्छ ।’

उनका अनुसार हेपाटाइटिस हुने प्रमुख कारणमध्ये अत्यधिक मदिरा सेवन, हेपाटाइटिस ‘बी’ र ‘सी’ भाइरसको संक्रमण हुन्छ तथा दूषित खाना र पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘ई’ प्रमुख हुन् ।

हेपाटाइटिस ‘ए’ र ‘ई’ सामान्यतया केही हप्ता वा महिनाभित्र आफैं निको हुने भए पनि हेपाटाइटिस ‘बी’ र ‘सी’ले दीर्घकालीन रुप लिएर कलेजोको सिरोसिस र क्यान्सरसम्म पुग्न सक्ने उनले बताए।

उनले भने, ‘विश्व हेपाटाइटिस दिवस विशेषगरी हेपाटाइटिस बी र सीका बारेमा जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ । नेपालमा पनि हेपाटाइटिस बी र सीका संक्रमित लाखौं हुन सक्ने अनुमान छ । धेरैजसो संक्रमित समयमै परीक्षणमा नआउँदा रोग ढिलो पत्ता लागिरहेको छ ।’

डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ हुँदा पेटको दायाँ भाग दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, हल्का ज्वरो आउने तथा आँखा पहेँलो हुने जस्ता लक्षण देखिन सक्छन्। तर हेपाटाइटिस ‘बी’ र ‘सी’मा सुरुवाती चरणमा यस्ता लक्षण नदेखिन पनि सक्छ ।

उनले भने, ‘हेपाटाइटिस बी र सी संक्रमित रगत, असुरक्षित यौन सम्पर्क, संक्रमित सुईको प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । लागूऔषध प्रयोगकर्ताले एउटै सिरिन्ज प्रयोग गर्दा पनि संक्रमण फैलिन सक्छ ।’

उपचारबारे उनले हेपाटाइटिस ‘बी’को एन्टिभाइरल औषधिबाट दीर्घकालीन उपचार सम्भव रहेको र हेपाटाइटिस ‘सी’लाई १२ देखि २४ हप्तासम्म औषधि सेवन गरेर पूर्ण रूपमा निको पार्न सकिने बताए।

उनले भने, ‘समयमै रोग पत्ता लगाउन सकियो भने हेपाटाइटिस बीबाट हुने सिरोसिस रोक्न सकिन्छ भने हेपाटाइटिस सी पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसैले लक्षण कुरेर बस्नु हुँदैन, परीक्षण गर्नुपर्छ ।’

डा. पौडेलले हाल धेरै स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा ¥यापिड किटमार्फत हेपाटाइटिस ‘बी’ र ‘सी’को प्रारम्भिक परीक्षण उपलब्ध रहेको जानकारी दिए । उनका अनुसार एउटा परीक्षण गर्न करिब रु. २०० देखि ३०० मात्र खर्च लाग्छ ।

उनले भने, ‘सरकारले सबै क्षेत्रमा परीक्षण सेवा विस्तार गर्नुपर्छ । जनचेतना बढाउन सकियो भने धेरै बिरामीलाई कलेजो बिग्रिनुअघि नै पहिचान गरेर उपचार गर्न सकिन्छ ।’

हेपाटाइटिसबाट बच्ने उपायबारे उनले हेपाटाइटिस ‘बी’विरुद्ध प्रभावकारी खोप उपलब्ध रहेकाले समयमै खोप लगाउन, जोखिम समूहले नियमित परीक्षण गराउन तथा संक्रमित व्यक्तिसँग रगत वा सुईको सम्पर्क हुन नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘समयमै परीक्षण, समयमै उपचार र हेपाटाइटिस बीको खोप नै हेपाटाइटिस नियन्त्रणका सबैभन्दा प्रभावकारी उपाय हुन्। यसबाट कलेजोको सिरोसिस, कलेजोको क्यान्सर र अन्य गम्भीर जटिलताबाट बच्न सकिन्छ।’