सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् अन्तर्गत नारी निकुञ्जको Deputy Women Coordinator पदका लागि विपना अधिकारीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्। कार्यकाल 2025–2027 को लागि हुने यो निर्वाचनमा उनी सक्रिय सहभागिताका साथ अघि बढ्ने बताउँछिन्।
उम्मेदवारी घोषणासँगै अधिकारीले समाजसेवा, पारदर्शिता र समर्पणलाई प्राथमिकतामा राख्दै आफ्नो टोलीले अनुभवी अग्रजहरूको मार्गदर्शन, युवाको जोश, र सेवा गर्ने स्पष्ट दृष्टिकोण लिएर चुनावी मैदानमा उत्रिएको जानकारी दिइन्।
“समुदायका अग्रजहरूप्रति सम्मान प्रकट गर्दै, अनुभव, युवाको जोश र काम गर्ने सक्षम टोली लिएर हामी अगाडि बढेका छौं,” अधिकारीको भनाइ छ। “हिजोका अनुभव र आजका सक्रियतासँगै, हामी सबैको सहभागितामा एक मजबुत डायस्पोरा निर्माण गरौं।”
NRNA NSW को निर्वाचन आउँदो २६ जुलाई २०२५ (शनिबार) को दिन हुन गइरहेको छ। अधिकारीको उम्मेदवारीसँगै नारी नेतृत्वको सशक्त सहभागिता र समावेशी प्रवृत्तिलाई टेवा पुग्ने विश्वास गरिएको छ।
समुदायमा सक्रिय भूमिका निभाउँदै आएकी विपना अधिकारीले विगतमा विभिन्न सामाजिक, सांस्कृतिक र महिला सशक्तिकरणका कार्यक्रमहरूमा उल्लेखनीय योगदान दिँदै आएकी छिन्।