मलेसियामा देखेका बर्षाते च्याउसरी नेपाली संगठन जापानमा पनि देख्दै छु!- विपेन उलङगे। 

everest kitchen

बिपेन उलङगे

जापानमा नेपाली समुदायको उपस्थिति सशक्त बन्दै गएको रहेछ । म सन २००८ मा मलेसिया जाँदाको जस्तै माहोल अहिले जापान छ जस्तो मलाई लाग्यो । मलेसियामा मैले २००८ देखि २०१४ सम्ममा एउटा माहोल देखेको थिए, त्यस्तै माहोल जापानमा छ जस्तो लाग्यो, म गलत हुन पनि सक्छु । तर त्यो ताकाको मलेसियाको माहोल सन २०१५ यता सामाजिक सञ्जालमा खुम्चिदै गयो ।

मलेसियामा सन २०१० को आसपास त लगभग प्रत्येक जिल्ला, अञ्चल, जातिय समुदाय, जात, धर्म, थर, नेपालको क्षेत्र, मलेसियाकै राज्य र क्षेत्र अनुसार देखि विभिन्न स्वतन्त्र संगठनहरु थिए । यस्तै कार्य खाडीका  अन्य देशहरुमा पनि थियो । युरोप, अमेरिका, अस्ट्रेलिया जापान जस्ता देशहरुमा त्यतिबेला नेपाली कमै थिएर साहेद अलि कम संगठन थिए ।

नेपाली जनशक्तिको बढ्दो प्रवेशसँगै नेपाली संगठनहरूको संख्यामा पनि यति धेरै वृद्धि भएको छ कि यी संगठनहरू वर्षात्का च्याउसरह जन्मिइरहेका छन्। तर प्रश्न उठ्छ—के यी संगठनहरू नेपाली समुदायका वास्तविक आवश्यकता सम्बोधन गर्न खडा भएका हुन्, वा केही व्यक्ति वा समूहको स्वार्थपूर्तिको माध्यम बनेका छन्?

“एउटा कुरा यो सामाग्री मैले एक महिना अगाडि नै तयार पारेको थिए  । तर लेखाईमा के नपुगेको-नपुगेको जस्तो लाग्यो र सार्वजनिक गरिन । लेख्दै गर्दा जन्मिदै तिनपाते!? आउन पाको छैन, कोन्निचिवा भन्नसमेत राम्रोसंग आउदैन गफ लाउछ भन्लान् तर देख्न, भोग्न र लेख्न त कहाँ कसले रोक्ने हो र!?”

अ:साच्चै, जापानमा बसोबास गर्ने नेपालीहरूको संख्या सन् २०२५ सम्म झण्डै २ लाख ४० हजार झण्डै पुगेको छ अरे! सन् २००८ मा मात्र झण्डै १५ हजार थिए। जनसंख्याको यस तीव्र वृद्धिसँगै, नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै सयौं सामाजिक संस्था, संघ, समूह र मंचहरू गठन भएका पक्कै हुन ।

यीमध्ये धेरै संस्था नामका लागि दर्ता भएर शिथिल अवस्थामा रहेछन् भने केही उदाहरणीय कार्यसमेत गर्दै आएका छन्। कहिलेकाहीँ त एउटै शहरमा एउटै उद्देश्यका साथ दर्जनौं दर्जन संस्था फस्टाएका छन्। पद र पैसाको बलमा अन्य स्वार्थपूर्ति गर्न सकिन्छ कि भनेर होस वा विवाद हुँदा पद नपाउदा संस्था फुट्छ, नयाँ संस्था जन्मिन्छ। परिणामस्वरूप, स्रोत र जनशक्तिको खण्डीकरण हुँदै जान्छ।

जापानमा गैर–नाफामूलक संस्था (NPO) दर्ता गर्न भने सजिलो रहेछ। तर दर्तापछि राज्य वा स्थानीय प्रशासनले उनीहरूको नियमित अनुगमन वा मूल्यांकन खासै गर्दैन रहेछ साहेद । जसले गर्दा संस्थाहरू आफ्नो मूल उद्देश्यबाट विमुख हुने प्रवृत्ति बढेको छ।

जापानीनिहरु कडा नियम पालाना गर्ने, संस्कार, ईमानदारी र जिम्मेवारी र योजनामा हिड्ने हुदा एकपटक खोलिएको संस्था होस या व्यापार बारम्बार निगरानी नगर्ने तर राम्रो गरेको होलान्, नियमसंगत होला भनेर विश्वास गर्ने बरु सम्बन्धित व्यक्ति र संस्थाले उपलब्ध गराउने कागजात विश्वास गर्ने चलन हुन्छ रे । बरु त्यस्ता व्यक्ति र संस्था बिरुद्ध मौखिक तथा लेखित गुनासो आएमा तुरुन्तै निरिक्षिण र कारबाही गर्ने तर निरन्तरको ल्याङल्याङ नगर्ने हुदोरहेछ ।

सन २०१० तिर जापानमा करिब १५ हजारको हाराहारीमा भएका नेपालीहरु अहिले करिब २ लाख ४० आसपास पुगेको अनुमान छ । त्यसैले जापानमा सामाजिक संघसंस्था आवश्यकता पनि एकदमै छ  ।

ठ्याक्कै यति उति भन्ने तथ्यांक नभएपनि जापानको कान्साई क्षेत्रमा मात्रै अहिले करिब तीन दर्जनबढी संस्था रहेको जापानको कान्साई क्षेत्र ओशाकामा बस्दै आउनुभएका व्यवसायी पुरुषोत्तम लामिछानेले उल्लेख गर्नु भएको छ । उहाँको फेसबुकमा अरु थप्नुस भन्दै राखेको जानकारीको स्किनसुट यहाँ छ:

देखाउने फोटो मोह!

जापानमा सक्ने हो र साच्चिकै हित्तचित्तले सामाजिक साहेता गर्ने हो भने कानुनी रुपमा विभिन्न कार्यक्रम गर्न सकिने पक्कै छ, रहेछ । तर यहाँ अनेक संगठनहरू ब्यानरसहित फोटो खिच्न र सामाजिक सञ्जालमा फोटो पोष्ट गर्न सक्रिय देखिन्छन्। तर यस्ता कार्यक्रमहरू वास्तविक समुदायलाई के योगदान दिन्छन् भन्नेमा विचार गरिँदैन।

प्रवासी नेपालीका लागि कानुनी परामर्श, जापानी संस्कार र अनुशासनको महत्त्व, भाषा तालिम, आपतकालीन सहायता, मानसिक स्वास्थ्य, रोजगार तथा व्यवस्थापन जस्ता काम र श्रमशक्ति शोषणजस्ता गम्भीर मुद्दा ओझेलमा परिरहेका छन् ।

अझ लाजै नमानेर भन्नुपर्दा खाडी, मलेसियामा जस्तै यहाँ पनि नेपाली संगठनमा रहेका बरिस्ठतम साहु देखि एजेन्टहरुबाटै नेपाली नै श्रमशोषण, अपमान र तस्करीमा परिरहेको डरलाग्दो अवस्था देखिन्छ । एउटाले ठगेको पीडित भएर त्यस्तै ठगन सिकेर उल्टै अरुलाई ठग्दै हिड्नु पर्ने बाध्यता जस्तो विकृत संस्कारको विकास भईरहेको पक्कै छ ।

सहयोगभन्दा प्रतिस्पर्धा:

संगठनहरूबीच सहकार्य हुनुको सट्टा प्रतिस्पर्धा, आरोप-प्रत्यारोप र गुटबन्दी देखिन्छ। यसले समुदायभित्र तिक्तता फैलाउँछ र जापानी समाजमा पनि नकारात्मक सन्देश जान्छ।

जापानमा नेपालीलाई समस्या भनेकै भाषा र कामको हो । यसलाई सहजिकरण गर्न सहयोग र समाधान गरे त्योभन्दा समाज सेवा हुन्थेन जस्तो लाग्छ मलाई । जापानमै दुख पाएका भाईबहिनिहरुलाई सहयोग गर्न सकिने अवस्था छैन । तर नेपालमा ठुलै समाजसेवा गर्छु भन्नू पनि त्यति धेरै सफलता पक्कै नमिल्ला ।

मलेसिया तथा खाडीमा कुनै नेपाली श्रमिकको निधन भयो भने सम्बन्धित काम गर्ने कम्पनीले, नभए नेपाल सरकारले आफ्नै खर्चमा नेपाल शव झिकाईन्छ । तर जापानबाट नेपालमा शव पठाउनत टाढाको कुरा समाजसेवीहरुले चन्दा उठाएर लास व्यवस्थापन गर्नुपर्ने अत्यन्तै दु:खद बाध्यता रहेछ ।

साथै, यो अवस्थालाई सुधार्ने उपाय नहुने त होइन होला। सच्चा नेतृत्व, दीर्घकालीन सोच र पारदर्शिताको माध्यमबाट नेपाली संघसंस्था जापानमा उदाहरणीय भूमिका खेल्न पक्कै सक्छन्।

प्रत्येक क्षेत्रमा एउटै प्रभावकारी छाता संगठन खडा गरेर समान उद्देश्य भएका साना संस्थाहरू समेट्न सकिन्छ। यसले स्रोतको सदुपयोग र सामूहिक आवाज सुदृढ बनाउँछ। एनआरएनए जापान पनि अझै धेरै फुर्तिलो र गतिलो बन्नु पर्ला । ठगुवा साहु र एजेन्ट नै संस्थाको अगुवा बन्दै गर्दा हाम्रा तमाम भरोसाले न्यायीक युक्ति प्राप्त नगर्न सक्छन् । त्यसैले संस्था राम्रो बनाउन सेतो छविको पनि आवश्यकता पक्कै छ । सबैले अभिभावक ठानेको संस्था नै पदकै लागि गुट र टुटफुटमा केन्द्रीकृत हुनु दु:खद हो ।

साथै, संस्थाहरूले पनि आफ्नो आय-व्यय, गतिविधि र भविष्य योजना सार्वजनिक गर्नुपर्छ। जापानी शैलीको accountability अपनाउनु अनिवार्य छ।

मेला, नाचगान, भोजजस्ता कार्यक्रम मात्रै नभई श्रम सम्बन्धी जानकारी, भिसा समस्यामा परेका व्यक्तिहरूका लागि कानुनी सहायता, रोजगार र पेशागत हितसंगै आत्मसम्मानको मुद्दामा क्रियाशील हुन आवश्यक साहेद छ। अ:साच्चि रमाइलो ठुम्का हान्न भिड लाग्ने जमात अन्य आयोजित समाजिक गतिविधिमा पनि त्यस्तै सहभागी भईदिनु पनि उतिकै जरुरी छ ।

स्थानीय जापानी सरकारी निकाय, NPO, र समुदाय विकास संस्थाहरूसँग सहकार्य गरेर अनुदान, प्रशिक्षण, र सीप विकासमा नेतृत्वले जोड दिनु जापानको नेपाली समाजको लागि अति आवश्यक छ ।

जापानको दु:ख

जापानमा आफन्त नहुनेले सारै दु:ख पाउने अवस्था रहेछ । एकहिसावले काममा सिफारिस गर्ने मान्छे छैन भने काम पाउन अति नै गाह्राे हुने रहेछ। त्यसको बिकल्प भनेकै राम्रो भाषा जान्नु हो रहेछ । भाषा जानेकोले जतासुकै जेजस्तो काम भएपनि आफै खोज्न सक्छन् । जापानको बसाइँ योजनासंग भाषा अनिवार्य रहेछ ।

खाडी, मलेसियामा भाषा पढेर गईदैन । तर त्यहाँ नेपालीले सहजै भाषा सिक्न सक्छन, २/४ महिनामा थोरधेरै भाषिक ज्ञान प्राप्त गर्न सक्छन् । तर जापानमा २/४ बर्ष भाषा स्कुल पढेकोले पनि राम्रोसँग भाषा जान्न कठिन रहेछ । भाषा, भाषाको अक्षर तथा शब्द लेखन नै कठिन छ । जापानी भाषामा हुने भाव र सांस्कृतिक गहिराई देखि सम्मानजनक भाषिक संरचना र फरक व्याकरण संरचनाले विदेशीलाई कठिन लाग्ने रहेछ ।

अन्त:मा लेख्नुपर्ने धेरै मन थियो । तर आफै छट्पटीमा छु, सुझाव दिनसमेतको हैसियतमा नभएको मैले बाँकी पछि लेखौला! संस्थाको संख्या हैन, प्रभावकारिता महत्वपुर्ण हुन्छ। जापानमा रहेका नेपाली संघसंस्थाहरूले आत्ममूल्यांकन गर्दै आफ्नो उद्देश्यप्रति इमानदार हुन जरुरी पक्कै छ। हैसियतको खेल होइन, सहकार्य र सेवा–यात्राको बाटो अपनाइयो भने नेपाली समुदायको आवाज अझ बुलन्द बन्नेछ र जापानी समाजमा हाम्रो पहिचान पनि अझ सम्मानजनक हुनेछ।

जापानमा विभिन्न संस्था स्थापना गरेर काम गरिरहेका, अबका दिनमा पनि खोलिदै गरेका, हाल सक्रिय र निष्क्रिय सबैमा हार्दिक शुभकामना । (आ-आफ्नो बिचार र बुझाई हुन्छ नै) धन्यवाद ।