लन्डन, जुलाई १६, २०२५
बौद्धिक सोच, विवेकपूर्ण निर्णय र निष्ठाको प्रतीकका रूपमा चिनिँदै आएका मनिष खत्रीले गैरआवासीय नेपाली संघ (NRNA) UK को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विगतमा उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका खत्रीले “यो अभियान मेरो व्यक्तिगत आकांक्षा होइन, सामूहिक उत्तरदायित्व हो” भन्दै भावनात्मक र विचारशील अभिव्यक्तिसहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।
एकताबाट नेतृत्वसम्मको यात्रा
मनिष खत्री चार वर्षदेखि एनआरएनए यूकेको गतिविधिमा सक्रिय छन्। हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका खत्री भन्छन्: “आज म स्कटल्याण्डबाट एक मात्र उम्मेदवारको रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिएको छु। जहाँ राज्य समिति सधैं दुई टुक्रा पर्थ्यो, आज मेरो आदरणीय दाजु शेर केसीको नेतृत्वमा एकढिक्का भएर निर्विरोध कार्यसमिति बनेको छ। यो नै एकताको बल हो।”
नामको अर्थ र पारिवारिक प्रेरणा
खत्रीले आफ्ना अनुभव सुनाउँदै भने: “कसैले मलाई ठट्टामा भने – तपाईंको बुवाको नाम अर्जुन हो भने तपाईंको नाम अभिमन्यु हुनुपर्ने थियो। म मुस्कुराएँ। मेरो नाम ‘मनिष’ राखिएको हो, ताकि ममा जोशसँगै होश पनि रहोस्। सोचेर, बुझेर, अनि निर्णय गरेर अघि बढ्न सकूँ।”
नेतृत्वको सुरुवात विद्यार्थी जीवनदेखि
मनिष खत्रीले आफ्नो नेतृत्व यात्रा Edinburgh Napier University बाट सुरु गरे, जहाँ उनी Student President चुनिएका थिए।
त्यसपछि उनले Post-Study Work Visa को लागि “2 Years Visa Now” अभियान सञ्चालन गरेर हजारौं नेपाली विद्यार्थीलाई लाभ दिलाए।
“मनिषले करीब ६ वर्षको अवधिमा गैरआवासीय नेपाली संघ (NRNA) मा तीन वटा महत्वपूर्ण नेतृत्व भूमिका सफलता साथ निर्वाह गरिसकेका छन्।। पहिलो पटक NRNA स्कटल्याण्डको प्रथम उपाध्यक्षको रूपमा, त्यसपछि सोही शाखाको सचिवको रूपमा, र पछिल्लो पटक NRNA युकेको उपाध्यक्षको जिम्मेवारीमा रहेका छन्।।”
एनआरएनएमा निरन्तर सक्रियता
-
उपाध्यक्षको रूपमा नेपाली भाषा युकेको स्कुलसम्म पुर्याउने अभियानमा निरन्तर प्रयासरत
-
नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र र युकेस्थित निकायहरूसँग संवाद र समन्वय
-
समुदायका समस्या, सुझाव र समाधानको लागि नीति निर्माण तहमा सक्रिय
अध्यक्ष पदको उम्मेदवारी: प्रतिनिधित्वको संकल्प : “आज म फेरि एक कदम अगाडि बढ्दैछु — NRNA UK को अध्यक्ष पदका लागि। म गुटबन्दीमा छैन, ठूलो टीम छैन, तर मसँग इमानदार सोच, मेहनत गर्ने संकल्प र परिवर्तनको चाहना छ।”
उनको अपिल: “यदि तपाईं यो परिवर्तनको अभियानमा साथ दिन चाहनुहुन्छ भने, सम्पर्क गर्नुहोस्। सके भोट दिनुहोस्, नसके हौसला दिनुहोस्। मिलेर, सँगै, इतिहास लेखौँ।”
मनिष खत्रीको अभियान आज केवल एक उम्मेदवारी घोषणा होइन — यो युवा नेतृत्वको आवाज, सोचमा गम्भीरता, र कार्यमा प्रतिबद्धता हो।
यदि तपाईंहरू पनि विदेशमा रहेका नेपालीहरूका लागि जवाफदेही, समावेशी र पारदर्शी नेतृत्व चाहनुहुन्छ भने — यो उम्मेदवारी एउटा नयाँ आशा बन्न सक्छ।