कोरियाले ३५० बिलियन लगानी गर्ने भए पछि ट्रम्पले १५ प्रतिशतमा सिमित गरे कर

everest kitchen

सियोल, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको बताएका छन् ।

 

ट्रम्पको यो भनाइ अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौताको बीचमा आएको हो । केही महिनादेखि चलेको महसुल वार्ता पछि यो नयाँ सम्झौता भएको हो ।

 

एक पत्रकारको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । पत्रकारले उनलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटबारे सोधेका थिए । ट्रम्पले यो बैठक दुई साताभित्र ह्वाइट हाउसमा हुने बताए ।

 

योनहाप समाचार एजेन्सीका अनुसार ट्रम्पले भनेका छन कि  ‘दक्षिण कोरियासँग हाम्रो राम्रो सम्बन्ध छ ।’ ट्रम्पले बिहिवार यो व्यापार सम्झौताको घोषणा गरेका हुन् । यसअन्तर्गत अमेरिकाले कोरियामाथि लगाइएको ‘पारस्परिक कर’ २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेका छन् ।

 

त्यसको बदलामा दक्षिण कोरियाले अमेरिकामा लगानी गर्ने अन्य केही वाचा गरेको छ । ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपतिले दुई साताभित्र ह्वाइट हाउसको भ्रमण गर्ने बताएका छन् । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले पनि बैठकको मिति तय गर्न वार्ता भइरहेको बताए ।

 

यसैबीच दक्षिण कोरिया सरकारले यस व्यापार सम्झौतामा ‘चामल बजार’ सम्बन्धी नयाँ व्यवस्था नभएको स्पष्ट पारेको छ । ‘कोरिया–अमेरिका व्यापार सम्झौता चामलसँग सम्बन्धित छैन,’ अर्थ, उद्योग र कृषि मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भन्यो।

 

बिहीबार भएको यो सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियामा लाग्ने भन्सार दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याएको छ । बदलामा दक्षिण कोरियाले आगामी चार वर्षमा अमेरिकामा ३५० बिलियन लगानी गर्ने र अमेरिकी ऊर्जा उत्पादनहरू १०० बिलियनमा किन्न वाचा गरेको छ।

स्रोतका अनुसार अमेरिकाले दक्षिण कोरियालाई आफ्नो चामल र गाईको मासु बजार खोल्न दबाबसमेत दिएको थियो, विशेष गरी ३० महिनाभन्दा पुरानो गाईबाट बनाइएका अमेरिकी गाईको मासु उत्पादनमा लगाइएको प्रतिबन्ध हटाउन अमेरिकाले दबाब बढाएको हो ।