रौतहट,८ भदौ । जिल्लाको चन्द्रनिगाहपुरमा एकैदिन १० जनाभन्दा बढी स्थानीयलाई कुकुरले टोकेको घटना सार्वजनिक भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पछाडि, दुर्गा मन्दिर र कर कार्यालय वरिपरिको क्षेत्रमा आएको कालो रंगको कुकुरले स्थानीयलाई अन्धाधुन्ध टोकेपछि त्रासको वातावरण बनेको छ ।
चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका अनुसार सो कुकुरले टोकेकाहरुमध्ये एकजनालाई पटक–पटक आक्रमण गर्दा गहिरो घाउ भएको छ । अस्पतालका डाक्टरले प्राथमिक उपचार गरेर रेबिज भ्याक्सिन लगाएपछि थप इम्युनोग्लोबिन भ्याक्सिनका लागि पीडितलाई नारायणी अस्पताल, बीरगञ्ज रेफर गरिएको जनाइएको छ ।
शनिबार मात्र १० जनाभन्दा बढी पीडित उपचारका लागि आएका छन् । टोकेको व्यक्तिहरुको संख्या अझै बढ्ने सम्भावना छ, किनभने अहिलेसम्म पनि बिरामी अस्पताल आउँदैछन्,” अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिए ।
टोकेको पीडितमध्ये चन्द्रनिगाहपुर–४ का रामबाबु महतोले भने, “म मन्दिरतर्फ जाँदै गर्दा अचानक कुकुर आएर खुट्टामा टोक्यो । भागेर जोगिन खोज्दा पुनः पछाडि लागेर टोकेपछि म अस्पताल पुगेको हुँ। अहिले धेरै डर लागेको छ ।”
त्यसैगरी चन्द्रनिगाहपुर–५ की सीता देवी दासले भनिन्, “कुकुरले टोकेको सुनेर सानो बच्चा लिएर बाहिर निस्कनै डर लागिरहेको छ । नगरपालिका र प्रहरी मिलेर तत्काल नियन्त्रण गर्नु पछ ।”
कुकुर अझै अनियन्त्रित अवस्थामा रहेकाले स्थानीयवासी त्रसित बनेका छन् । उनीहरूले चन्द्रपुर नगरपालिका, प्रहरी प्रशासन र सम्बन्धित निकायलाई कुकुर नियन्त्रणमा लिन तत्काल कदम चाल्न माग गरेका छन् ।
स्थानीय समाजसेवी बसन्त आचार्यले भने, “यो सामान्य घटना होइन । एकैदिन यति धेरैलाई टोकेको छ भने यो सार्वजनिक स्वास्थ्यसँग जोडिएको खतरनाक विषय हो । नगरपालिकाले तत्काल टोली बनाएर नियन्त्रण गर्नुपर्छ ।”
अस्पतालले पनि स्थानीयलाई अनावश्यक रूपमा बाहिर हिँड्न सावधानी अपनाउन आग्रह गरेको छ ।