पर्थ, अष्ट्रेलिया। मधेशी कम्युनिटी एसोसिएशन अफ वेस्टर्न अष्ट्रेलियाले पश्चिम अष्ट्रेलियामा पहिलो पटक छठ पर्व आयोजना गर्ने घोषणा गरेको छ। अष्ट्रेलियाका सिड्नी र मेलबर्न जस्ता सहरमा विगतदेखि नै यो प्राचीन पर्व मनाइँदै आए पनि पर्थमा भने यस वर्ष पहिलोपटक व्यवस्थित रूपमा छठ पर्व मनाइने भएको हो। यस ऐतिहासिक आयोजनाले श्रद्धा, संस्कार र सांस्कृतिक सम्पदामार्फत नेपाली समुदायलाई अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम आयोजनाको मुख्य उद्देश्य मधेस र नेपाली संस्कृतिको मौलिकता पश्चिम अष्ट्रेलियामा जगेर्ना गर्नुका साथै नयाँ पुस्तासम्म पुर्याउनु रहेको आयोजकहरूले बताएका छन्। सूर्यदेवलाई अर्पण गरिने छठ केवल पर्व मात्र नभई स्वास्थ्य, समृद्धि, मेलमिलाप र कृतज्ञताको प्रार्थना भएको आयोजकहरूको भनाइ छ।
कार्यक्रमको लक्ष्य
-
पश्चिम अष्ट्रेलियामा छठ पर्वलाई प्रकृति, संस्कृति र अध्यात्मसँग जोडिएको पर्वका रूपमा परिचित गराउने।
-
नेपाली प्रवासी समुदायबीच एकता र मेलमिलाप बढाउने।
-
नयाँ पुस्तालाई परम्परागत मूल्य र संस्कारसँग जोडेर सांस्कृतिक पहिचान सुरक्षित गर्ने।
-
विभिन्न समुदायबीच समावेशीपन र आपसी सम्मान बढाउँदै बहुसांस्कृतिक मेलमिलाप प्रोत्साहित गर्ने।
अपेक्षित उपलब्धि
यो प्रयासले छठ पर्वलाई पश्चिम अष्ट्रेलियामा वार्षिक सांस्कृतिक पर्वका रूपमा स्थापित गर्ने, युवा पुस्तालाई आफ्नो जरा–संस्कृतिसँग जोड्ने, र विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान बढाउने विश्वास गरिएको छ।
कार्यक्रमको विवरण
-
सन्ध्या अर्घ : २७ अक्टोबर २०२५ (सोमबार), बेलुकी ४ बजे–८ बजे
-
बिहानी अर्घ : २८ अक्टोबर २०२५ (मंगलबार), बिहान ५ बजे–८ बजे
(स्थान छिट्टै सार्वजनिक गरिनेछ)
आयोजक मधेशी कम्युनिटी एसोसिएशन अफ वेस्टर्न अष्ट्रेलियाका अनुसार, यो पर्व प्रार्थनासँग मात्र सीमित नभई समुदाय निर्माण, विविधताको उत्सव र पुस्तान्तरणमार्फत संस्कृतिको जगेर्ना गर्ने अवसर पनि हो।