काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् ।
गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभिल अस्पताल लगियो भनेर,’ उनले भने । सिभिल हस्पिटल पुगेपछि श्रीयम राष्टिूय टूमा सेन्टरमा रहेको र मृत्यु पुष्टि भएको आफूलाई थाहा भएको उनले बताए ।
गणेशले बताए अनुसार शव टूमपछि त्रिवि शिक्षण अस्पतालमा पाँच दिनसम्म राखियो र प्रारम्भमा शव उपलब्ध गराउन सरकारले ढिलाइ गरेको थियो । ‘हामीले जबरजस्ती माग गर्दा मात्रै मुचुल्का उठाएर गएका थिए तर प्रहरीले ‘पाँच(सात दिनपछि सम्मानका साथ निकाल्छौँ’ भनेको थियो,’ उनले भने ।
गणेशले भने कि परिवारले अब सम्मानको अपेक्षा नगरी तत्काल आफ्ना छोराको शव चाहिएको माग गरेका थिए, किनकि ‘लास कुहिरहेको’ अवस्था देखिएकाले अब ढिलाइ गर्न नसकिने अवस्थामा पुगेको थियो ।
आन्दोलन नेतृत्व र वर्तमान राजनीतिक नेतृत्वप्रति कडा अभिव्यक्ति दिँदै गणेशले भने, ‘जेनजी पुस्ताको लिडरसिप कमजोरी नै छ । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, रमेश लेखक यी हत्यारा हुन् । यिनलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्छ ।’
उनले वर्तमान सरकारलाई शहीदहरुको रगतमा टेकेर बनेको बताए । सरकारले शहीदप्रति वास्तविक सहानुभूति देखाउन आवश्यक रहेको बताउँदै १५ लाख क्षतिपूर्तिको घोषणा स्वीकार्य नभएको पनि स्पष्ट पारे ।
गणेशले परिवारका तर्फबाट समिति गठन सुरक्षाका कामका लागि पहल गरेको बताए । उनले सफा नेतृत्व र ठोस कार्यान्वयनको अभाव हुँदा आन्दोलनको अहिलेको स्वरूप निराशाजनक रहेको बताए । उनले शहीदको सपना पूरा गर्न अब देशमा प्रत्यक्ष राष्टूपति वा प्रधानमन्त्री चाहिनेमा जोड दिए ।
घटनापछि परिवारले सरकारी निकायसँग किटानी जाहेरी दिएको र प्रहरीले मुचुल्का लिने व्यवस्था गरेको उल्लेख पनि समाचारमा प्रस्तुत छ । गणेशले सामाजिक संघसंस्थाहरूले पनि पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।
गणेशले अब शहीद परिवारहरुका तर्फबाट सरकारलाई दबाब सिर्जना गर्न संघर्षका कार्यक्रमहरु आयोजना गर्ने बताए । उनले भने,‘शहीदहरुको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भएपनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि मेरो के नै रह्यो र ? छातीमा गोली थापेर भएपनि लड्छु ।’
आफ्नो छोरा शहीद भएपछि वाथरुममा पसेर घन्टौंसम्म रोएको बताएका उनले श्रीयम वानेश्वरको सिभिल अस्पताल अगाडिको सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा प्रहरीले गोली वर्षाएको सुनाए । ‘मेरो छोरासरहका युवाहरुलाई गोली हान्न लगाउने त्यसबेलाका सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पहिले पक्राउ गरेर जेलमा हालेर मात्र छानविन आयोग बनाउनुपर्छ । ति सबै पशु हुन् । यिनीहरुले देशको माया गर्दैनन्, भाषणमा मात्र माया गर्छन् ।’
इटहरीमा जन्मिएका श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट)अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए । बुबा(आमाको बुढेसकालको सहारा थिए ।
राजनीतिक दलको गतिविधिप्रति सँधै वितृष्णा भएको सुनाउने गरेका श्रीयमका बुबा गणेश र आमा गंगा कार्की यतिबेला गहिरो शोकमा छन् । गणेश र उनको परिवारले सुरुदेखिनै आन्दोलनमा सहभागी निहत्था युवामाथि गोली चलाउनु मानवअधिकारको ठाडो उल्लंघन भएको भन्दै दोषी जो भए पनि कानुनी कठघरामा ल्याउनैपर्ने चेतावनी दिंदै आएका छन् ।