काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले शहीदहरुको सपना सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
शनिबार अविरल बर्षा भइरहेका बेला सिंहदरबार अगाडि शहीद परिवार भेला कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्ना छोरालगायत धेरै युवाले देशका लागि बलिदान दिएको स्मरण गराए ।
श्रेष्ठले भने, ‘मेरो छोरोको जेनजी आन्दोलनको दोस्रो दिन बालाजु चौकी नजिकै गोली लागेर मृत्यु भयो । उजस्तै धेरैका छोराछोरीले देशका लागि बलिदान दिएका छन् । यिनै बलिदानकै आधारमा अहिलेको सरकार बनेको हो ।’
उनले सरकारलाई जेनजी आन्दोलनमा उठाइएका मागहरूप्रति गम्भीर हुन आग्रह गरे । ‘जेनजी आन्दोलनकै कारण सरकार आयो । अब यो सरकारले जेनजी पुस्ताका मागहरू सम्बोधन गरोस् भन्ने मेरो अनुरोध छ,’ श्रेष्ठले भने ।
वर्षासँगै सिंहदरबार अगाडि आयोजित कार्यक्रममा उपस्थित भएका श्रेष्ठले शहीद परिवारको तर्फबाट सरकारलाई खबरदारी गर्दै मागहरू स्पष्ट रूपमा राख्ने बताए । ‘हामी निचोडमा पुगेर आफ्ना मागहरू राख्नेछौं । हाम्रा छोराहरूले देशको लागि बलिदान दिएका छन् । अब त्यो बलिदान बेकार नजाओस्,’ उनले भने ।
जेनजी आन्दोलनमा परेका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र आन्दोलनका मागहरू तत्काल सम्बोधन गर्नुपर्ने आवाज चुलिँदै गएको छ ।
कलेज पोशाकमै काठमाडौंको सिभिल अस्पताल अगाडि गोली लागेका शहीद श्रीयस चौंलागाईका बुबा गणेशलगायत शहीद परिवारका सदस्यहरुले दबाबमूलक कार्यक्रमको तयारी गरिरहेका छन् । शनिबार उनीहरुले सिंहदरबार अगाडि भेला हुने कार्यक्रम राखेका थिए ।