सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव

everest kitchen

सर्लाही । सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव ६ दिनपछि भेटिएको छ । जिल्लाको धनकौल गाउँपालिका – ३ मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी ११ वर्षीया सोनी कुमारी साहको शव घटना भएको ६ दिनपछि फेला परेको हो ।

गत असोज ३० गते बिहान हरकठवा निवासी सोनी मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक शावन सिंह क्षेत्री भाटको कमाण्डमा पाँच जनाको टोली र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा अर्को पाँच जनाको टोली खोजीका लागि खटाइएको थियो ।

लगातार खोजी गर्दा पनि बालिका फेला नपरेपछि असोज ३१ गते इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक दिवाकर गणेशको नेतृत्वमा थप टोली पठाइएको थियो । सोही दिनदेखि सशस्त्र प्रहरी बल नं. २ बाहिनी बर्दिवासबाट नायब निरीक्षक भक्तबहादुर खत्रीको कमाण्डमा नौ जना गोताखोर टोली पनि परिचालन गरिएको थियो ।

तीन दिनसम्म निरन्तर खोजी गर्दा पनि बालिका फेला नपरेपछि गोताखोर टोली फिर्ता भएको थियो । आज ( मंगलबार) बिहान करिब साँढे ८ बजे घटना स्थलदेखि करिब १० किलोमिटर दक्षिण जिल्लाकै रामनगर गाउँपालिका – ७ पछियारीटोलस्थित मनुसमारा खोलामा उनको शव घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकका दाई चन्दन साहले शवको सनाखत गरेका थिए ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए