छठ पर्व आत्मशुद्धि र सामाजिक एकताको प्रतीक : डोल प्रसाद अर्याल

everest kitchen

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।

छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यस पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्वलाई जीवन्त राख्दै आएको बताएका छन् ।

उनले चार दिनसम्म विभिन्न विधि र अनुष्ठानका साथ मनाइने यो पर्व आत्मशुद्धि, त्याग र समर्पणका माध्यमबाट सामूहिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उल्लेख गरे ।

उनले भने, ‘उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई गरिने उपासनाले जीवनका सुख र दुःख दुवैलाई समानरूपमा स्वीकार गर्ने प्रेरणा दिन्छ ।’

अर्यालले पछिल्ला वर्षहरूमा छठ मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकतामा अभिवृद्धि गर्नका साथै विविधताबीचको एकतालाई अझ मजबुत बनाएको बताएका छन् ।

छठ पर्वले सामाजिक एकता र राष्ट्रिय भावनालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले भने, ‘छठको पावन अवसरमा प्राप्त हुने प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गरोस् ।’