काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ । महासंघका अनुसार, पीडित व्यवसायीहरूले जाहेरी नै दर्ता नहुने गुनासो गरिरहेका छन्, जसले दण्डहीनता मौलाउने र व्यवसायी हतोत्साहित हुने अवस्था सिर्जना गरेको छ ।
महासंघले भनेको छ, “यदि यस्तो अवस्था कायम रह्यो भने लगानीको वातावरणमा गम्भीर चुनौती आउँछ, जसको दीर्घकालीन असर रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा पर्नेछ ।”
निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि महासंघले केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ । यसबारे औपचारिक पत्राचार गृहमन्त्रालयमा गरिसकिएको महासंघले जनाएको छ ।
आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा फोरम÷समितिका सभापतिहरूबीच भएको छलफलमा कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, “शान्ति र सुरक्षा बिना स्थायित्व सम्भव छैन, स्थायित्व बिना उद्यम व्यवसाय सञ्चालन हुन सक्दैन, र व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर संकट आउँछ ।” उनले दण्डहीनता अन्त्य गर्न र व्यवसायीमाथि भविष्यमामा आक्रमण नहुने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे ।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले पनि लगानीमैत्री वातावरण र आर्थिक स्थायित्वका लागि सरकारको सक्रियता अत्यावश्यक रहेको उल्लेख गर्दै भने, “शान्ति–सुरक्षा कायम गरी निजी क्षेत्रको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान जरुरी छ ।”
छलफलमा उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति तथा विभिन्न फोरमका सभापतिहरू सहभागी थिए । उनीहरूले निजी क्षेत्रमाथि भएको आक्रमणले व्यवसायीहरू निरुत्साहित भएको बताउँदै, उद्यमीहरूले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराए ।











