१२ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आगामी दुई दिनका लागि मौसमजन्य विपद्प्रति सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको २०८२ कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपण उद्धृत गर्दै जनाएको छ कि
कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा भारी हिमपात हुनसक्नेछ।
त्यस्तै, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दा, यात्रु, र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले विशेषगरी पहाडी सडक क्षेत्रमा हिउँ र वर्षाका कारण आवागमन अवरुद्ध हुन सक्ने, नदीमा पानीको सतह बढ्न सक्ने, तथा ठूलो चिसो वृद्धि हुने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।












