बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् ।
एकहप्ता अघि सोही पालिकाको –६ सटेडा गैरीबाडाका स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि स्थानीय त्रसित बनेका थिए ।
त्यसलगत्तै एकहप्ता पछि पुनः सोही वडाको सटेडामा बाघले फर्मभित्र पालेका ४४ वटा कालिज मारेर छ । स्थानीय गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ४४ कालिज सखाप बनाएको हो ।
स्थानीय रोकायाको घर नजिकै रहेको कालिज फमभित्र पसेर ५६ वटा मध्ये ४४ कालिज बाघले मारेको पीडित स्थानीय गणेश रोकायाले बताए।आफू फर्मभन्दा टाढाको घरमा बसेको र विहान अर्डरका लागी कालिज लिन जाँदा बाघले ग्याविन भत्काई मारेको बताएका छन् ।
विक्रि गर्न ठिक्क बनाएर राखेका कालिज बाघले मारेपछी रोकायाको करिव १ लाख ५० हजार भन्दा बढीको क्षति भएको हो।रोकायाले २०६९ सालदेखि व्यक्तिगत १६ लाख लगानीमा घुमपाल रिङरेड तथा पशुपन्छी कालिज फर्म मार्फत व्यवसायीक रुपमा कालिज पालन गर्दै आएका थिए ।
हरेक बर्ष बाघले कालिज मारेर ठुलो नोक्सानी गर्ने गरेको पिडित रोकायाको भनाइ छ । सुरुमा गवाडा भन्ने स्थानमा कालिज फर्म स्थापन गरेका थिए । सोही ठाउँमा पनि बाघले ५४ हजार बराबरका कालिज खाएको थियो । उक्त स्थानबाट सुरक्षित राख्न घर नजिकै राखेका उनले पुनः बाघले नोक्सानी पुर्याएको हो ।
पालिकाका विभिन्न गाउँमा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । एकपछि अर्को घटना बढ्न थालेपछी मान्छेमा बाघले हामीमाथी समेत आक्रमण गर्ने हो की भन्ने चिन्ता बढेको हो।बाजुराका विभिन्न ठाउँमा पछिल्लो समय बाघले ठुलो नोक्सानी गर्ने गरेको छ । बिशेषत् गौमुल,खप्तड छेडेदह,बडीमालिकामा बाघका घटना बढि घट्ने गरेका छन् ।











